इच्छाकामना गाउँपालिका अध्यक्षको पहिलो निर्णय विपन्न वर्ग पहिचान गरि स्वास्थ्य बिमा गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १६ : ३२
इच्छाकामना गाउँपालिका अध्यक्षको पहिलो निर्णय विपन्न वर्ग पहिचान गरि स्वास्थ्य बिमा गर्ने

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङले पदभार ग्रहण गरेका छन्। उनले जिल्ला समन्वय समिति चितवनको सभाहलमा आज बिहान शपथ ग्रहण गरे लगत्तै गाउँपालिका कार्यालयमा आएर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गरेको दिननै उनले पहिलो निर्णयको रुपमा विपन्न वर्गको पहिचान गरि स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन्। निर्णयमा हस्ताक्षर गर्दै उनले भने ‘मैले चुनावी प्रतिबद्धता अनुरुप सबैभन्दा पहिले विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुचमा पुर्‍याउन गाउँपालिका भित्रका विपन्न वर्गको पहिचान गर्ने र उनीहरुको स्वास्थ्य बिमा गर्ने निर्णय गरेको छु’ ।

सुरुवात देखि नै नागरिकको शासक हैन सेवक बनेर काम गर्ने प्रतिबद्धता गर्दा नागरिकले विश्वास गरेर आफुलाई जिताईदिएकोले आफु नागरिक प्रति सधै बफादार रहने उनले बताए।

यस्तै गाउँपालिकाको नवनिर्वाचित उपाध्यक्ष र वडाध्यक्ष लगायत अन्य जनप्रतिनिधीहरुलाई आगामी सोमबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि शपथ ग्रहण गरिने उनले बताए। साथै उनका अनुसार सोही कार्यक्रममा गाउँपालिकाका पूर्वजनप्रतिनिधिहरुलाई पनि विदाई गरिनेछ ।

इच्छाकामना गाउँपालिकामा यसपटकको स्थानीय तह निर्वाचनबाट नेकपा एमालेबाट अध्यक्ष, उपाध्यक्ष, ५ वडाध्यक्ष, २१ जना सदस्य, नेपाली काँग्रेसबाट १ वडाध्यक्ष, ५ जना सदस्य र माओवादी केन्द्रबाट १ वडाध्यक्ष, २ सदस्य निर्वाचित भएका छन्। 

प्रतिक्रिया दिनुहोस