यसै वर्ष विश्वव्यापी भोकमरी आउन सक्ने चेतावनी

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १२ : २४
यसै वर्ष विश्वव्यापी भोकमरी आउन सक्ने चेतावनी

अमेरिकाले युक्रेनको अन्नबाली भण्डारमा नियन्त्रण कायम गर्न खोजेकाले त्यस देशमा मानवीय संकट आउन सक्ने रुसका राष्ट्रपतिका सहयोगी माक्सिम ओरेश्किनले बताएका छन् । यसै वर्षको अन्त्यतिर विश्वव्यापी भोकमरीको स्थिति आउन सक्ने उनले बताए । ‘जाडो शुरू हुने बेलातिर विश्वभरि खाद्यान्नको अभाव हुनेछ । तर रुसले यो समस्या भोग्नुपर्ने छैन, उल्टो रुससँग पर्याप्त खाद्यान्न हुनेछ,’ ओरेश्किनले बताए । 

विश्व बजारमा गहुँको मूल्यमा वृद्धि हुँदा भोकमरीको सम्भावना बढ्ने उनको भनाइ छ । यसका लागि अमेरिकाको गैरजिम्मेवार मुद्रा प्रणाली दोषी रहेको उनी बताउँछन् । ‘सन् २०२० सम्म विश्व बजारमा गहुँको मूल्य स्थिर थियो । तर त्यही वर्षको जुलाई महिनादेखि जथाभावी डलर छाप्न थालियो अनि मूल्यवृद्धि चर्कियो,’ उनले बताए । कोभिड महामारीको प्रभावलाई न्यून गर्नका लागि अमेरिकाले स्वेच्छाचारी रूपमा डलर छापेको हो । अझ बाइडन प्रशासनको ताजा गतिविधिले कुरा बिगारेको ओरेश्किनको भनाइ छ । 

‘अमेरिकाले युक्रेनसँग भएको अन्नबाली भण्डार हत्याउन खोजेको छ । यसले युक्रेनमा गम्भीर मानवीय समस्या निम्त्याउँछ । अनि यसले विश्वमा भोकमरी पनि बढाउँछ,’ ती ओरेश्किनले चेतावनी दिए । 

यो वर्ष गहुँको मूल्य ६० प्रतिशत भन्दा बढीले आकासिएको छ । युक्रेन द्वन्द्व तथा मस्कोमाथिको प्रतिबन्धका कारण आपूर्ति शृंखलामा आएको रोकावटका कारण मूल्यवृद्धि भएको हो । रुस र युक्रेनले संसारको गहुँ निर्यातको लगभग एक तिहाइ भाग ओगटेका छन् । 

रुस, कजाकास्तान र भारत जस्ता ठूला गहुँ उत्पादक मुलुकले आफ्नै जनतालाई खुवाउनका लागि भन्दै निर्यात प्रतिबन्ध लगाएपछि परिस्थिति झनै बिग्रेको छ । 

प्रतिक्रिया दिनुहोस