सल्यानका प्रमुख तीन नेताले आफ्नै वडा जोगाउन सकेनन्

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १३ : १४
सल्यानका प्रमुख तीन नेताले आफ्नै वडा जोगाउन सकेनन्

सल्यान  केन्द्रमा पहुँच राख्ने सल्यानका तीन नेताले स्थानीय तहको निर्वाचनमा आफ्नै वडा जोगाउन सकेका छैनन्।१५ वर्षदेखि लगातार प्रतिनिधिसभामा सल्यानबाट विजयी हुँदै आएका माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बस्नेतको बागचौर नगरपालिका ८ मा माओवादी पराजित बनेको छ। यो वडा माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य टीका बुढाथोकीको पनि हो।

कुल खसेको १२४८ मतमा नेपाली कांग्रेसका सुशीलजंग चन्दले ६०६ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका कविराम बस्नेत ५२१ मत ल्याए भने एमालेका बिजन विकले ७१ मत ल्याए।

२०७४ को स्थानीय तहको निर्वाचनमा यो वडा माओवादीले जितेको थियो। त्यसवेला माओवादीका रोमु शाही ३८९ मत ल्याएर विजयी भएका थिए। एमालेका हरिबहादुर केसीले २७० र कांग्रेसका क्षेत्रबहादुर चन्दले २४२ ल्यााएका थिए।

त्यस्तै एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले पनि आफ्नो वडामा आफ्नो पार्टीको विरासत जोगाउन सकेनन्। ज्वालाको वडा बनगाड कुपिण्डे नगरपालिका– १ मा एकीकृत समाजवादीले हार व्यहोर्नुपर्‍यो।

यसअघि एमालेको लालकिल्ला मानिएको वडा नम्बर १ मा अहिले नेपाली कांग्रेसले फाइदा लिएको छ। यहाँ कांग्रेसका थुमबहादुर बिसी विजय भएका छन्। बिसी ६२३ मत ल्याएर विजयी बने भने एमालेका दीपबहादुर खड्काले ५५७ र एकीकृत समाजवादीका डम्मरबहादुर साहुले ४४५ मत ल्याए। यो वडामा माओवादी केन्द्र र एकीकृत समाजवादीको समीकरण थियो।

२०७४ को स्थानीय तहको निर्वाचनमा यो वडा एमालेले जितेको थियो। त्यो वेला एमालेका शान्तकुमार एरी ६५८ मत ल्याएर विजयी भएका थिए भने स्वतन्त्र उम्मेदवार दीपबहादुर खर्का ३१२ मत ल्याएर दोस्रो बनेका थिए।

त्यस्तै एमालेका पोलिटब्यूरो सदस्य गुलाबजंग शाहले पनि आफ्नो वडामा एमालेको विरासत गुमाएका छन। शाहको वडा बनगाड कुपिण्डे नगरपालिका–७ मा एमालेले लज्जास्पद हार व्यहोरेको छ। उक्त वडा पनि एमालेको गढ मानिन्छ।

शाहको वडामा एमालेलाई पराजित गर्न ४ दल नेपाली कांग्रेस, नेकपा समाजवादी, राप्रपा र माओवादी केन्द्रको गठबन्धन बनेको थियो। जसमा माओवादी केन्द्रका जीवनसिंह ठकुरीको प्यानलले नै वडा जितेको छ। ठकुरीले ६६६ मत ल्याए भने एमालेकाट प्रकाश बस्नेतले ५७१ मत ल्याए।

२०७४ को स्थानीय तहको निर्वाचनमा यो वडा पनि एमालेले जितेको थियो। त्यसवेला एमालेका भोपाल केसी ४७२ मत ल्याएर विजय भएका थिए।

प्रतिक्रिया दिनुहोस