काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपिल गरेका छन्। सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मंगलबारदेखि सुरु हुने संसदको अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपील गरेका हुन्।
आफ्नो कुराकानी नभएपनि कानुनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको आफूले जानकारी पाएको बताए। सभामुख सापकोटाले जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने भएकाले यस सम्बन्धमा राजनीतिक दलहरूका बिचमा समझदारी बन्ने विश्वास व्यक्त गरे।
‘अहिले मेरो तर्फबाट त भएको छैन तर मैले कानुनमन्त्रीजीसँग भेटेर छलफल गर्दाखेरी उहाँले अनौपचारिक रुपमा कुरा भइराखेको छ भन्नुहुन्थ्यो। उहाँले विपक्षी दलका उपनेता सुवास नेम्वाङसँग मेरो कुराकानी भएको थियो। फेरि पनि कुराकानी गर्ने बिचार छ भन्नुहुन्थ्यो’ उनले भने। संसदको विषयमा भोलि कानूनमन्त्रीसँग ११ बजे भेट हुने बताए। दिउँसो २ बजे कार्यव्यवस्था समितिको बैठक बस्ने उनको भनाइ छ।
सभामुखले भने, ‘मलाई आशा छ अब धेरै समय बितिसकेको छ। त्यसकारणले उहाँहरुले धेरै महत्वपूर्ण अधिवेशन हो। राष्ट्रको बजेट प्रस्तुत गर्ने, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, १५ गते अनिवार्य रुपमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था हुनाले एउटा समझदारी बन्छ होला जस्तो मलाई लाग्छ।’
वैशाख १८ गते प्रधानमन्त्रीलाई भेटेर संसद र बजेट अधिवेशनको बिषयमा छलफल गरिसकेको बताए। बजेट अधिवेशन मुल रुपमा बजेटमै केन्द्रीत हुने बताए। सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने बताए।
सभामुखले भने, ‘यो पनि दलहरूको, खासगरी सरकारसँगै छलफल गरेर अगाडी जाने कुरा हो। मुख्यतः दलहरूको सम्भवतः भोलि नै पनि यसमा सामान्य छलफल हुन सक्छ। तर मलाई के लाग्छ भने यो बजेट अधिवेशन भएको हुनाले बजेट पारित गर्ने कुरामै सर्वाधिक प्राथमिकताको विषय भएको हुनाले बजेट पारित भइसकेपछि त्यस सन्दर्भमा विषय केन्द्रीत हुन्छ होला।’
सर्वसम्मत भइसकेको विधेयकहरुलाई अगाडी बढाउनका लागि राजनीतिक दलहरूका बिचमा समझदारी भएमा त्यसलाई अगाडि बढाउन संसद सचिवालय तयार रहेको स्पष्ट पारे। संघीय संसदको बजेट अधिवेशन मंगलबार अपरान्ह ४ बजे बस्ने गरी आव्हान गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १६ : १०
लेखकबाट थप