यी अस्पतालमा आइतबार पनि ओपिडी खुला

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ११ : २५
यी अस्पतालमा आइतबार पनि ओपिडी खुला

काठमाडाैँ । सरकारको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरुमा हप्तामा दुई दिन शनिबार र आइतबार बिदा हुने भएको छ। देशका धेरै अस्पताल र स्वास्थ्य संस्थामा पनि सोही अनुसार आजबाट बिदा कार्यान्वयनमा आएको छ।तर केही ठूला अस्पतालहरुले भने आइतबार ओपिडी बन्द नगर्ने निर्णय गरेका छन्। ती अस्पतालहरुमा आइतबार ओपिडी खुला नै छ। 

स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, प्रदेश अस्पताल सुर्खेत, आयुर्वेद चिकित्सालय नरदेवी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा ओपिडी सेवा आइतबार पनि खुला नै छन्। यी अस्पतालहरुले आइतबारको बिदाका विषयमा थप छलफल आवश्यक रहेको भन्दै हाललाई नियमित रुपमा आइतबार पनि विगतमा जस्तै सेवा दिने निर्णय गरेका हुन्।

भरतपुर अस्पतालले भने न्यून शुल्कमा ओपिडी सेवा आइतबार सञ्चालन गर्ने निर्णय गरेको छ।आइतबार बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएका कार्यालयमा भने सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० बजे देखि साँझ ५:३० बजेसम्म कायम हुने भएको छ। तर कात्तिक १६ गते देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० बजे देखि अपरान्ह ४:३० बजेसम्म मात्रै कायम हुनेछ।

यस्तै  निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, लगाएतले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने भएको छ।

यस्तै सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिइने भएको छ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य क्षेत्रमा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने बहस सुरु भएको थियो।

स्वास्थ्यसँग सम्बन्धित संघ/संगठनहरुले भने सातामा दुई दिन बिदा दिँदा चिकित्सक तथा स्वास्थ्यकर्मीको अत्यधिक कार्यबोझ घट्न गइ सेवामा प्रभावकारिता आउने भन्दै सातामा दुई दिन बिदा दिने निर्णयको स्वागत गरेका थिए। 

प्रतिक्रिया दिनुहोस