नर्सिङ शिक्षामा विधागत अध्ययन: स्नातक तहमा यी पाँच विषयमा सिट छुट्याइयो

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १२ : ०८
नर्सिङ शिक्षामा विधागत अध्ययन: स्नातक तहमा यी पाँच विषयमा सिट छुट्याइयो

काठमाडौं । नर्सिङ शिक्षामा स्नातक (ब्याचलर) तहमा पनि विभिन्न विषयमा विधागत अध्ययनका लागि सिटको व्यवस्था गरिएको छ। चिकित्सा शिक्षा आयोगले ब्याचलर इन नर्सिङ साइन्स (बिएनएस)मा यसपटक विभिन्न पाँच विषयका लागि छुट्टै सिट संख्या तोकेको हो।आयोगले सार्वजनिक गरेको सिट संख्या अनुसार यस वर्ष पेडियाट्रिक नर्सिङका लागि ४० सिट, साइक्याट्रिक नर्सिङका लागि ६ सिट, कम्युनिट नर्सिङका लागि ३४ सिट, क्रिटिकल केयर नर्सिङका लागि ४० सिट र एडल्ट नर्सिङ विषयको लागि १८० सिट छुट्याएको छ।

आयोगले यी विधागत विषयसँगै बिएनएसमा ११५० सिट तोकेको छ। बिएनएसमा गत वर्ष एकमुष्ट ११९५ सिट थियो। यो वर्ष थप पाँच वटा विषयमा छुट्टै विधागत रुपमा ३०० सिट तोकिएको छ। 

बीएस्सी नर्सिङ विषयमा पनि यो वर्ष गत वर्षकोभन्दा  ३६० सिट बढी थपिएको छ। बीएस्सीमा गत वर्ष ११०० सिट तोकिएकोमा यसपटक बढाएर १४६० पुर्‍याइएको छ।

कुन विषयमा कुन कलेजमा कति सिट?

एडल्ट नर्सिङ: बिराटनगर नर्सिङ क्याम्पसमा ४०, वीरगन्ज नर्सिङ क्याम्पसमा २५, महाराजगन्ज नर्सिङ क्याम्पसमा २०, नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा ४०, पोखरा नर्सिङ क्याम्पसमा २५ र नेपालगन्ज नर्सिङ क्याम्पसमा ३०।

कम्युनिटी नर्सिङ: वीरगन्ज नर्सिङ क्याम्पसमा १०, महाराजगन्ज नर्सिङ क्याम्पसमा १४ र पोखरा नर्सिङ क्याम्पसमा १०।

क्रिटिकल केयर: नेसनल एकाडेमी अफ मेडिकल साइन्सेसमा ४०

पेडियाट्रिक: वीरगन्ज नर्सिङ क्याम्पसमा ५, महाराजगन्ज नर्सिङ क्याम्पसमा १०, नेसनल एकाडेमी अफ मेडिकल साइन्सेसमा २० र पोखरा नर्सिङ क्याम्पसमा ५।

साइक्याट्रिक: महाराजगन्ज नर्सिङ क्याम्पसमा ६।

नर्सिङ जनशक्तिः अब अस्पतालमा मात्र होइन, विद्यालय र समुदायमा पनि सक्रिय
नेपालमा १ लाख ५ हजार ३८८ जना नर्सिङ (अनमी समेत) जनशक्तिले लाइसेन्स प्राप्त गरेको नेपाल नर्सिङ काउन्सिलको तथ्यांक छ। ती मध्ये ६८ हजार ३१६ जनाले नर्स, ३६ हजार ४४६ एएनएम, ५९८ जना विशेषज्ञ नर्सिङ र २८ जना मिडवाइफ छन्। नेपालमा ८४५ विदेशी नर्सले पनि लाइसेन्स लिएका छन्।

नर्स भन्नेवित्तिकै धेरैले अस्पताल र स्वास्थ्य संस्थामा खटिने जनशक्ति भनेर बुझ्ने गर्छन्। तर आजभोलि नर्सिङ जनशक्ति अस्पतालमा बिरामीको सेवामा मात्र सिमित छैनन्। समुदाय र विद्यालयमा पनि स्वास्थ्य सचेतनाका लागि खटिएका छन्, बिरामी तथा स्वास्थ्य चेतना फैलाउन सक्रिय छन्।

स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी प्रमुख गोमादेवी निरौला पछिल्लो समय नर्सिङ जनशक्तिका लागि कार्यक्षेत्र विस्तार हुँदै गएको बताउँछिन्।

‘अहिले नर्सिङ जनशक्तिका लागि कार्यक्षेत्रको दायरा बढेको छ, स्कुल हेल्थ नर्स, सामुदायिक नर्स लगायतका कार्यक्रमले नर्सहरुलाई रोजगारीको नयाँ बाटो खुलेको छ,’ निरौलाले भनिन्, ‘बेलायत सरकारले पनि नर्सहरुलाई रोजगारी दिने भनेको छ, नेपालमै पनि अब नर्सहरु अस्पतालमा मात्र सिमित छैनन्।’

महाशाखाकी प्रमुख निरौलाका अनुसार महाशाखाले आफ्नो वार्षिक योजना अनुसारका कार्यक्रम तथा नर्सहरुको क्षमता विकासका कार्य गरिरहेको छ।

नर्सिङ जनशक्तिको क्षमता विकासका लागि महाशाखाले समन्वय गरेर नर्सहरुलाई डायलाइसिस सेवा, जेरियाट्रिक नर्सिङ, सामुदायिक नर्सका लागि तालिम तथा नर्सहरुको क्षमता विकासका लागि अन्य कामहरु गरिरहेको निरौलाको भनाइ छ।

स्थानीय तहसँगको सहकार्यमा सामुदायिक नर्सहरुले समुदायमा खटिएर कार्य गरिरहेको उनले जानकारी दिइन्।

भक्तपुरको भक्तपुर नगरपालिका र महोत्तरीको बर्दीवास नगरपालिकामा सामुदायिक नर्सहरुले घरघरमा पुगेर स्वास्थ्य समस्याका विषयमा अध्ययन गरिरहेका छन्।

निरौलाका अनुसार भक्तपुर नगरपालिकामा १० जना र बर्दिवासमा १४ जना नर्सहरु खटिएका छन्। यसरी खटिएका नर्सिङ जनशक्तिले सामुदायिक स्वास्थ्य अवस्थाबारे अध्ययन प्रतिवेदन तयार गर्नेछ।

नर्सिङ जनशक्तिलाई अहिले विद्यालय तहमा पनि नियुक्त गरिएको छ।

महाशाखाको तथ्यांकका अनुसार ८४१ जना नर्सिङ जनशक्ति विद्यालयमा कार्यरत छन्।

ती मध्ये प्रदेश १ मा  १४५, मधेशमा ८०, बागमतीमा ३५९, गण्डकीमा ८ सुदूरपश्चिममा २७ र नर्सिङ महाशाखाले विभिन्न ठाउँका विद्यालयमा खटाएका २२२ जना नर्सहरु छन्।

यस्तै बागमती प्रदेशले थप नर्सिङ जनशक्ति विद्यालयका लागि नियुक्त गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस