काठमाडौं । विराटनगर महानगरमा नेकपा एमालेबाट उपमेयरको प्रतिस्पर्धी शिल्पा निरौला (कार्की) विरुद्ध दायर भएको रिटमा पेसी तोकिएको छ। न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ।
निरौलाविरुद्धको पेसी ख नम्बरमा रहेको छ। उपमेयरका अर्का प्रतिस्पर्धी अमरेन्द्र यादवले सर्वोच्चमा रिट दायर गरेका थिए। उपमेयर कार्कीले राजीनामा पेस नगरी उम्मेदवारी दर्ता गराएको र राजीनामाका लागि किर्ते विवरण पेस गरेको दाबी रिटमा गरिएको छ। यादवले आफ्नो प्रतिस्पर्धी कार्कीविरुद्ध वैशाख २१ गते रिट दायर गरेका थिए।
उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले वैशाख २२ गते लिखित जवाफ माग गर्ने आदेश गरेको थियो। वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि कार्की उम्मेदवार हुन अयोग्य भएको दाबी गरिएकाले रिटमा सर्वोच्चले इजलासबाटै आजका लागि पेसी तोकेको थियो । सर्वोच्चले आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेमा उनको उम्मेदवारी खारेज हुनेछ।यो अवस्थामा गठवन्धनका तर्फबाट उम्मेदवार बनेका यादवलाई सहज हुनेछ। उम्मेदवार कार्कीले बुझाएको किर्ते राजीनामाको कागजातको आधारमा मुख्य निर्वाचन अकिृतको कार्यालयले उम्मेदवारी सदर गरेकाले उक्त उम्मेदवारी बदर हुनुपर्ने जिकिर रिटमा गरिएको छ।
उम्मेदवार कार्कीले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै सुरुमा विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। उक्त उजुरीमा निर्णय गर्दै आयोगले दाबी नपुगेको भन्दै खारेज गरेको थियो। यसरी खारेज गर्ने निर्णयसमेतलाई चुनौती दिँदै जसपाका उम्मेदवार यादव सर्वोच्च पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ बैशाख २०७९, १२ : ११
लेखकबाट थप