काठमाडौं । स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा कूल एक लाख २३ हजार ५५३ जनाले मतदान गर्न पाउने छन् । जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार जिल्लामा ६५ हजार २७१ महिला तथा ५८ हजार २८२ पुरुष रहेका छन् । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको डोटीमा नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरी निर्वाचनमा सहभागी भएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा सत्तापक्षमै रहेको नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।
यसैगरी यस वर्ष गठबन्धन भएका कारण मतदाताले उम्मेदवारलाई दिनुपर्ने मत चिह्न पनि फरक–फरक भएको र मतदान गर्ने तरिका खासै नसिकेको हुँदा अन्य निर्वाचनभन्दा यस वर्ष मत बदर हुने सङ्ख्या बढ्न सक्ने पूर्वीचौकी गाउँपालिका चैकोटका स्थानीय चक्रबहादुर कठायतले बताए । उनले भने, ‘गठबन्धनका कारण पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष फरक–फरक पार्टीका भएका र मतदान चिह्न पनि सोहीअनुसार भएकाले मतदाताले खासै सिकेका छैनन्, मत बदर बढी हुनसक्छ ।’
चुनावी तालमेल गरेका माओवादी केन्द्र तथा एकीकृत समाजवादीले जिल्लाका नौवटै स्थानीय तहमा आफूहरूको जीत सुश्चित रहेको दाबी गर्दै आएका छन् भने प्रमुख प्रतिपक्ष दल एमाले तथा सत्तापक्षकै कांग्रेसले गठबन्धन दलभित्रको मतभेदका कारण अधिकांश स्थानीय तहमा आफूहरूको जीत हुने दाबी गर्दै आएका छन् । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमाले पाँच, कांग्रेस तीन तथा माओवादी केन्द्रले एक स्थानीय तहमा विजयी हासिल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ बैशाख २०७९, ११ : २३
लेखकबाट थप