म्यारडोनाको जर्सी खेलकुद जगतकै महँगो लिलामी

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, १४ : २९
म्यारडोनाको जर्सी खेलकुद जगतकै महँगो लिलामी

काठमाडौं । सन् १९८६ को विश्वकपमा इंग्ल्याण्डविरुद्ध हातले गोल गर्दा स्वर्गीय डिएगो म्यारडोनाले लगाएको जर्सी विश्व खेलकुद जगतकै महंगो मूल्यमा लिलामी भएको छ ।

बुधबार अक्सानमार्फत अर्जेन्टिनी सुपरस्टारले लगाएको जर्सी ७.१४ मिलियन पाउन्ड (८.९३ मिलियन डलर)मा बिक्री भएको हो ।विश्वकप क्वाटरफाइनलमा उनले सो जर्सीलगाएका थिए । मेक्सिकोमा भएको विश्वकपको सो खेलमा सोही जर्सी लगाएर उनले २ गोल गरेका थिए । दोस्रो हाफको छैटौं मिनेटमा आफूले गरेको गोललाई म्याराडोना आफैंले ‘ह्यान्ड अफ गड’को उपमा दिएका थिए ।

पहिलो गोलको चार मिनेट पश्चात फेरी बल ड्रिबल गर्दै दोस्रो महत्वपूर्ण गोल गरेका थिए । खेलपछि उनको त्यो महत्वपूर्ण जर्सी इङ्ल्यान्डका खेलाडी स्टिभ होजले पाएका थिए ।होजले इंग्ल्याण्ड फुटबल म्युजियमलाई हस्तान्तरण गरेको जर्सी १९ वर्षपछि लिलामी गरिएको हो ।जर्सी किन्ने व्यक्ति वा संस्थाको नाम गोप्य राखिएको छ ।

‘यो ऐतिहासिक जर्सी खेलकुद इतिहासमा मात्रै नभई २०औं शताब्दीको एउटा महत्वपूर्ण क्षणको मूर्त सम्झना हो ।’ जर्सी लिलामी गर्ने संस्था सोथवीका स्ट्रिटवेयर र मोर्डन कलेक्टेबल्सका उपप्रमुख ब्रहम वाचरले भने

यसअघि सन् २०१९ मा ओलम्पिक घोषणापत्रको मूल अटोग्राफ ८.८ मिलियन अमेरिकी डलरमा लिलामी भएको थियो । म्याराडोनाको जर्सीले त्यो कीर्तिमानलाई उछिनेको हो ।म्याराडोनाकी छोरी र पूर्वपत्नीले भने सो जर्सी उनले खेलको पहिलो हाफमा लगाएको हुनाले सही जर्सी लिलामी नभएको दावी गरेका छन् । उनीहरुले गोल गर्दा लगाएको जर्सी अर्कै भएको दावी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस