म्यारोडोनाको 'ह्यान्ड्स अफ गड' जर्सीले बनायो रेकर्ड

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, १३ : ५७
म्यारोडोनाको 'ह्यान्ड्स अफ गड' जर्सीले बनायो रेकर्ड

विश्वका सर्वश्रेष्ठ फुटबलरका रूपमा रहेका डिएगो म्याराडोनाले १९८६ विश्वकपको क्वाटरफाइनलमा पहिरिएको जर्सीको लिलामी गरिएको छ। उनको यो जर्सी ७.१ मिलियन पाउन्ड (१ अर्ब ९ करोड ९२ लाख रुपैयाँ) मा लिलामी गरिएको छ। जुन कुनैपनि खेलकुदको एउटा सामानले पाएको अत्यधिक लिलामी मूल्य हो। अनलाइनमार्फत गरिएको बढाबढीमा कसले कति मूल्य लगायो भन्ने कुरा गोप्य राखिएको छ।

यो खेलसँग जोडिएको विवादका कारण पनि म्यारोडोनाको जर्सीले रेकर्डेड मूल्य पाएको हो।उनले बेलायतविरुद्ध यो जर्सी पहिरिएर क्वाटरफाइनलमा गरेका दुबै गोल ऐतिहासिक मानिन्छन्।पहिलो गोल 'ह्यान्ड्स अफ गड'का रूपमा चर्चित छ।

अर्थात् म्यारोडोनाले हेडमार्फत गोल गर्न चाहेका थिए तर बल उनले हातले हानेका थिए। जुन बलले जाली चुमेको थियो। रेफ्रीले उनले हातले गरेको गोल नदेख्दा गोलको मान्यता दिए।पछि म्यारोडोनाले यो गोललाई आफ्नो टाउको र भगवान्‌को हातबाट निस्किएको गोलको उपमा दिएका थिए।

उनको यो गोलले नै बेलायतलाई हराउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। मेक्सिको सिटीमा २२ जुन १९८६ मा खेलेको यो खेलको चर्चा अहिले पनि हुने गरेको छ। साथै उनले सोही खेलमा गरेको दोस्रो गोल शताब्दीको सर्वश्रेष्ठ गोलका रूपमा लिने गरिन्छ।

म्यारोडनाले यही खेलमा गरेको दोस्रो गोललाई २००२ मा फिफाले शताब्दीको सर्वश्रेष्ठ गोलको मान्यता दिएको थियो। यो खेल अर्जेन्टिनाले बेलायतलाई २-१ ले पराजित गरेको थियो। म्यारोडोनाकै उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना १९८६ को विश्वविजेता समेत बनेको थियो।

 

प्रतिक्रिया दिनुहोस