आईजीपी नियुक्तीविरुद्धको मुद्दाको बहस सकियो, आजै आदेश आउने

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, १३ : २७
आईजीपी नियुक्तीविरुद्धको मुद्दाको बहस सकियो, आजै आदेश आउने

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज दोस्रो दिन पनि सुनुवाई जारी छ । आइतबार सरकारले प्रहरी प्रमुखमा धिरजप्रताप सिंहलाई महानिरीक्षकमा नियुक्त गरेसँगै सोमबार नै वारेसमार्फत अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेलले रिट दायर गरेका थिए ।

उक्त रिटउपर हिजो न्यायाधीश सुष्मालता माथेमाको इजलाशमा सुनुवाइ भएको थियो । रिट निवेदक पोखरेलकातर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, मेघराज पोखरेल, ललित बस्नेत, पूर्णमान शाक्यलगायतले बहस गरेका थिए । सोलगतै सरकारी पक्षले हस्तक्षेप बहस गरेको थियो ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता खम्बबहादुर खाती, नायव महान्यायाधिवक्ता टेकप्रसाद घिमिरेकासाथै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले सरकारी कदमको बचाउमा बहस गरेका थिए । त्यसका साथै महानिरीक्षक सिंहकातर्फबाट केही कानुन व्यवसायीले पनि हिजै बहस गरेका थिए ।

आज पनि सर्वोच्च अदालतको ५ नम्बरको इजलाशमा सोही मुद्दामाथि बहस भइरहेको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलाशमा आज यही एउटा मात्र मुद्दा राखिएको छ । आज दोस्रो दिन रिट निवेदक पोखरेलकातर्फबाट अधिवक्ता माधव बस्नेतले बहस प्रारम्भ गरेका हुन् । त्यसपछि सो रिटमाथि दोहोरो बहस भएको हो ।

केहीबेर अघि उक्त बहस सकिएको छ । सम्भवत आजै आदेश आउने सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस