डडेल्धुरामा माओवादीले टुंग्यायो उम्मेदवार, कुन पालिकामा को ?

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, १० : २८
डडेल्धुरामा माओवादीले टुंग्यायो उम्मेदवार, कुन पालिकामा को ?

डडेल्धुरा । सत्ता गठबन्धन दलबीच सहमति हुन नसकेपछि नेकपा (माओवादी केन्द्र) डडेल्धुराले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । माओवादी केन्द्रले दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटै स्थानीय तह प्रमुख र उपप्रमुखको उम्मेवार टुंग्याएको हो ।

कुन पालिकामा माओवादी केन्द्रको को उम्मेदवार ? 
माओवादीले परशुराम नगरपालिकाको मेयरमा शेरसिंह माल ‘डायमण्ड’ र उपमेयरमा विमला महतालाई उम्मेदवार बनाएको छ । माल परशुराम नगरपालिकाका नगर कमिटी अध्यक्ष हुन् । उनी २०७४ सालको स्थानीय तह चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग पराजित भएका थिए । 

माओवादीले आलिताल गाउँपालिका अध्यक्ष पदका लागि शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी बोहरा रावललाई उम्मेदवार बनाएको छ । भागेश्वर गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद पाण्डेय र उपाध्यक्षमा गीता भट्टलाई उम्मेदवार बनाइएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष मानसिंह मालले जानकारी दिए ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाको मेयरमा लक्ष्मण सिंह र उपमेयरमा सशी अवस्थीलाई उम्मेदवार बनाइएको छ । अयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार माओवादीले दोहोर्‍याएको छ ।

माओवादी केन्द्रले अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडलाई पुनः उम्मेदवार बनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा भट्ट र भाड क्रमशस् अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

यसैगरी माओवादीले नवदुर्गा गाउँपलिकाको अध्यक्ष पदका लागि धर्मदेव विक र उपाध्यक्षमा बिष्ना बोहरा तथा गन्यापधुरा गाउँपालिका उपाध्यक्षमा चन्द्रबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । त्यहाँ अध्यक्षको उम्मेदवार भने माओवादीले टुंग्याएको छैन ।

प्रतिक्रिया दिनुहोस