प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच बालुवाटारमा भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १४ : ३०
प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ । शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको हो ।

देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए। भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे विचारहरू आदानप्रदान गरिएको ट्विटमा उल्लेख छ ।

नेपाल–अमेरिका मित्रता र सरकार, संसद र आम जनतालाई समावेश गरी बहुआयामिक साझेदारी अभिवृद्धि गर्ने उपायबारे विचार आदानप्रदान गरिएको र जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दामा पनि छलफल भएको प्रधानमन्त्री देउवाको ट्वीटमा उल्लेख गरिएको छ ।

चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको थियो ।टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स (१७ औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) छन् ।

सो टोलीले शनिबार बिहान परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटेका थिए । उनीहरूले आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, द्विपक्षीय र बहुपक्षीय स्तरमा साझा चासोका क्षेत्रहरूमा पनि विचार आदानप्रदान गरिएको थियो ।

अमेरिकी सिनेटरको टोली आइतबार फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस