नौ महिनामा ३५ अर्बको ५० लाख थान मोबाइल फोन भित्रियो

पत्रपत्रिकाबाट

शनिबार, १० बैशाख २०७९, ०८ : ०९
नौ महिनामा ३५ अर्बको ५० लाख थान मोबाइल फोन भित्रियो

काठमाडौं । स्वदेशी उत्पादनको प्रवद्र्धन र विलासिताका वस्तु आयातमा कडाइ गर्न यसअघि भएका अनेक प्रयास र नीति नियम प्रभावकारी नभएकै कारण अहिले सरकार बढ्दो आयात रोक्न असफल भएको छ ।

चालू आर्थिक वर्ष २०७८ र ७९ प्रारम्भ भएदेखि नै सरकारले सवारीसाधन, महँगा विदेशी ब्रान्डका मदिरा, सुनचाँदी र धेरै मुल्यपर्ने ल्याप्टप, मोबाइल सेट लगायतका बस्तुहरुलाई बिलासिताका सामान भन्दै विलासिताका वस्तुहरूको आयातमा कडाइ गर्दै आएको दाबी गरेको सरकारले यसअघि आफैंले विभिन्न समयमा जारी भएको नीति तथा निर्देशन कार्यान्वयन गर्न असफल भएको देखिएको छ । जसका कारण हाल दैनिक आयात बढेर मुलुक थप आर्थिक संकटमा परेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका नौ महिना गत चैत मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार आयात रोक्न सरकार असफल देखिएको हो । शुक्रबार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयात बढेको छ ।यस अवधिमा कुल १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बढीको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा जम्मा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँको आयात भएको थियो ।

अहिलेसम्म सरकारले गरेका अनेक प्रयास निरर्थक हुँदा आयात घटेन । झन् उल्टै बढेर आवको बितेका नौ महिनामा गत आवको भन्दा साढे ३ खर्ब रुपैयाँ बढीको सामान आयात भएको विभागले जनाएको छ । चालू आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा बढेर १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत चैत मसान्तसम्म मुलुकको व्यापार घाटा १३ खर्ब ६ अर्ब नाघेको हो ।

यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा २८ दशमलव ४७ प्रतिशतले बढी हो । अहिलेसम्म आयात नियन्त्रण गर्न असफल साबित भएको सरकारले आफ्ना नीति निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न थप प्रयास नगरे यही अनुपातमा मुलुकको व्यापार घाटा बढेर यस आर्थिक वर्षभित्रमै १८ खर्ब रुपैयाँ नाघ्नेछ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस