अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कमी नहुने गरी औषधि उत्पादन गर्नुस : राष्ट्रपति भण्डारी

'औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्छ'

प्रकाश सिग्देल

शुक्रबार, ०९ बैशाख २०७९, १७ : २७
अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कमी नहुने गरी औषधि उत्पादन गर्नुस : राष्ट्रपति भण्डारी

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै कमी नहुने गरी औषधि उत्पादन गर्न व्‍यवसायीहरूलाई आग्रह गरेकी छिन् ।नेपाल औषधि उत्पादक संघले भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गरेको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय हुनुपर्ने बताइन् ।

अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी औषधिको उत्पादन, बजारीकरण र वितरणलाई सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनको भनाइ छ ।सकेसम्म धेरै किसिमका औषधि देशभित्रै उत्पादन गर्न सकेमा हाम्रो संविधानले प्रत्याभूति गरेको स्वास्थ्य सम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने आफूलाई लागेको राष्ट्रपति भण्डारीको धारणा छ । कोभिड १९ को विश्वव्यापी महामारीले खोप, औषधि तथा स्वास्थ्य सामग्रीका क्षेत्रमा गरिएको लगानी उत्पादन, वितरण प्रणालीलाई ठूलो चुनौती रहेको उनको भनाइ छ।

रोगको उपचार र नियन्त्रणका लागि मुलुकहरुबीच आपसी सहयोग र सहकार्यको आवश्यक भए जस्तै औषधि उत्पादनको क्षेत्रमा पनि राष्ट्रहरुबीच पारस्परिक सहयोग अभिवृद्धि हुनु पर्नेमा उनले जोड दिइन् ।तीन दिनसम्म चल्ने प्रदर्शनीमा स्वदेशी र विदेशी गरी १६० स्टल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस