नर्भिकमा १४ विशेषज्ञले एकैसाथ निःशुल्क ओपीडी सेवा दिने

सफल खबर संवाददाता

शुक्रबार, ०९ बैशाख २०७९, ११ : २९
नर्भिकमा १४ विशेषज्ञले एकैसाथ निःशुल्क ओपीडी सेवा दिने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार (भोलि) विभिन्न क्षेत्रसँग विज्ञ १४ विशेषज्ञ चिकित्सकहरुलाई एकैसाथ निःशुल्क ओपीडी सेवामा उपलब्ध गराउने भएको छ । 

अस्पतालको २९ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिवार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र यूरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ चिकित्सकहरूलाई निःशुल्क ओपीडी सेवामा उपलब्ध गराइने भएको हो  ।  नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्दैछ । यसैको पूर्वतयारी स्वरुप अस्पतालले क्यान्सरसँग सम्बन्धित विशेष ओपिडी सेवा शनिवार पनि सञ्चालन गर्न लागेको हो । 

शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म क्यान्सर स्क्रिनिङका लागि निःशुल्क ओपीडी सञ्चालन हुने अस्पतालले जनाएको छ । निःशुल्क क्यानस्क्रिनिसेवामा डा. सुचित्रा तुलाधार, डा. आरोग्य कँडेल, डा. रमिला डंगोल, डा. श्वेता बराल, डा. विवेक खनाल, डा. एलिजा श्रेष्ठ, डा. बानिरा कार्की, डा. दीपक लामिछाने, डा. राजन कोजू र डा. सुदिप शाक्य उपलब्ध हुनेछन् । उनीहरु सबै क्यान्सर र सोसँग सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकहरु हुन् । 

यसैबीच, नर्भिकको वार्षिकोत्सवको अवसर पारेर क्यान्सरसँग सम्बन्धित ३ वटा हेल्थ प्याकेजहरु पनि सार्वजनिक गरिएको छ ।नर्भिकले ४० वर्षभन्दा माथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको विशेष प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्क वैशाख महिनाभरिलाई ३० प्रतिशत छुट गरी १४ हजार रूपैयाँ कायम गरिएको छ । ४० वर्षमाथिका महिलाहरूका लागि क्यान्सर स्क्रिनिङको यो विशेष प्याकेज हो । यसअन्तर्गत १० खालका विशेष परीक्षण तथा विशेषज्ञको विशेष परामर्श सेवा समेत समावेश गरिएको अस्पतालले जनाएको छ । 

यस्तै, ४० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरुमा क्यान्सर पत्ता लगाउने गरी अर्को प्याकेज समेत डिजाइन गरिएको छ । यो प्याकेजमा समेत वैशाख महिनाभरि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । यसअन्तर्गत ८ वटा विशेष परीक्षण तथा विशेषज्ञको परामर्श सेवा समेत समावेश गरिएको छ । यो प्याकेजको अफर रेट ११ हजार रहेको छ। 

अस्पतालले ४० वर्ष वा सोभन्दा बढी उमेरका पुरुषहरुका लागि समेत क्यान्सर स्क्रिनिङको सुलभ प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्कमा समेत वैशाख ३१ सम्म ३० प्रतिशत छुट पाइन्छ । यो प्याकेज पाँच हजार ५०५ मै उपलब्ध हुने अस्पतालले जनाएको छ । यसअन्तर्गत ८ खालका विशेष परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ । यसैबीच, निःशुल्क फ्री ओपीडी अभियान अन्तरगत शनिवार(भोलि) यूरोलोजीको २ वटा टिमले समेत अलग अलग सेवा दिने भएको छ । 

यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी शनिवार विहान ८ बजेदेखि १० बजेसम्म निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ । 

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरूका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रियासमेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । 

यसै गरी, बिहान ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपीडी सेवा दिनेछ । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपीडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । 

नर्भिकमा हाल सानो प्वाल बनाई मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मिर्गौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । 

यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ । निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्सएप वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 

प्रतिक्रिया दिनुहोस