तीन वर्षपछि राखेप बोर्ड बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, ०९ बैशाख २०७९, १० : ३४
तीन वर्षपछि राखेप बोर्ड बैठक बस्दै

नेपाली खेलकुदको सर्वोच्च नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक शुक्रबार बस्दै छ। करिब तीन वर्षपछि बस्न लागेको बैठकमा समसामयिक खेलकुद गतिविधि सहित नवौं राष्ट्रिय खेलकुद र एसियन गेम्सका विषय मुख्य एजेन्डाका रुपमा रहने छन्।​अदालतको गोल चक्करबाट मुक्त भएपछि राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बोर्ड बैठक शुक्रबार बिहान ११ बजेका लागि आह्वान गरेका हुन्। बैठक सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बस्ने छ।

पछिल्लो पटक २०७६ साल बैशाखको पहिलो साता नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुदको समापनमा राखेपको बोर्ड बैठक बसेको थियो। तत्कालिन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अनुपस्थितिमा सो बैठकको अध्यक्षता तत्कालिन उपाध्यक्ष पिताम्बर तिम्सिनाले गरेका थिए। सोही बैठकले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा २०७७ सालमा आयोजना गर्ने निर्णय गरेपनि २ वर्ष बित्न लाग्दा पनि नवौं राष्ट्रिय खेलकुद अनिश्चितता कायम छ।

त्यसपछि खेलकुदको नेतृत्वमा आएका कुनैपनि खेलकुद मन्त्रीले राखेपको बोर्ड बैठक राख्न सकेनन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा ल्याएका तत्कालिन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मापनि बोर्ड बैठक राख्न भने असफल रहे।

शुक्रबार तय भएको बोर्ड बैठकमा मुख्य रुपमा नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियन गेम्सको विषयमा छलफल हुने छ। शुक्रबारको बैठकले नवौं राष्ट्रिय खेलकुदको आयोजनाको औपचारीक टुंगो लगाउने विश्वास गरिएको छ।राखेपको सदस्य सचिव र बोर्ड सदस्यको विवादका कारण लामो समय देखि खेलकुद मन्त्री गहतराजले परिषद्को बोर्ड बैठक राख्न सकेका थिएनन्। बोर्ड सदस्यको विवाद अझै अदालतमै रहेका कारण आफुले पदमुक्त गरेका र नयाँ नियुक्त गरेका बोर्ड सदस्यलाई मन्त्री गहतराजले बैठकमा बोलाएका छैनन्।

खेलकुद ऐनले राखेपको बोर्ड बैठक वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने उल्लेख गरेपनि कार्यन्वयन हुन सकेको छैन्। यसअघि झनै राजनितिक खिचातानीका कारण तीन वर्षमा एकपटक पनि तत्कालिन सदस्यसचिव रमेश सिलवालले बैठक बसाउन सकेका थिएनन्।

खेलकुदको नीति,  योजना,  बजेट र कार्यक्रम पास गर्न राखेपको बोर्ड बैठक अत्यावश्यक मानिन्छ। तर खेलकुदको नेतृत्वले स्वेच्छिक रुपमा आफ्ना दलका नेता रिझाउने प्रयासमा लाग्दा खेलकुदका राम्रा-गतिविधि छायामा परेका थिए।

प्रतिक्रिया दिनुहोस