डब्लूएचओका महानिर्देशक डा टेड्रोस र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १८ : ०५
डब्लूएचओका महानिर्देशक डा टेड्रोस र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा.टेड्रोस एडहानोम गेहब्रेयसस र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच भेटवार्ता भएको छ ।

बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले महानिर्देशक डा.टेड्रोसले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालको समर्थन रहेको बताएका छन् ।मन्त्री खतिवडाले नेपाली जनताको स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा धन्यवाद दिए । उनले औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान तथा निदानलगायतका क्षेत्रमा नेपाललाई डब्लूएचओबाट सहकार्य आवश्यक रहेको धारणा राखे ।

मन्त्री खतिवडाले नेपालले स्वास्थ्य सेवाहरूमा सबैको समतामुलक पहुँच अभिवृद्धि गर्न एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तीय रणनीति तर्जुमा गर्ने योजना बनाएको जानकारी दिए ।
भेटका क्रममा महानिर्देशक टेड्रोसले नेपाललाई डब्लूएचओको साथ निरन्तर रहने बताए । त्यस्तै बिहीबार नै महानिर्देशक टेड्रोसले परराष्ट्रमन्त्री डा नारायण खड्कासंग पनि भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटमा दुईपक्षिय हितका बारेमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस