बुद्धशान्तिमा हात्तीसँगै चितुवा आतङ्क

रासस

विहीबार, ०८ बैशाख २०७९, १२ : ५२
बुद्धशान्तिमा हात्तीसँगै चितुवा आतङ्क

झापा । बुद्धशान्ति गाउँपालिका–८ मा दैनिकजसो चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् । दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीयवासीको सुँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन् । आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बाँस्तोलाका अनुसार दुई दिनदेखि चितुवाले गाउँ पसेर आतङ्क मच्चाउन थालेको छ । उनले बुधबार राति भोजराज बास्तोलाको बाख्रा मारेको, दीपक बाँस्तोलाको बाख्रा र देवीप्रसाद अधिकारीको गाईको बाछो घाइते बनाएको बताए ।

चितुवाले अञ्जु प्रधानको दुई सुँगुर र पदमबहादुर एक्तेनको एउटा सुँगुर मारेको छ । ‘एकातिर हात्तीको पीर छ, अर्कोतिर चितुवाको पनि थपियो’, उनले भने, ‘ज्यान जोगाउनै गाह्रो भयो ।’ चितुवाले गाउँमा दुःख दिन थालेपछि डिभिजन वन कार्यालय र प्रहरी प्रशासनलाई गुहार्दा समेत कोही नआएको उनको दुःखेसो छ । 

डिभिजन वन कार्यालयका वन अधिकृत ओम भट्टराईले चितुवा नियन्त्रणमा लिन खोर बनाउँदै गरेको बताए । उनले स्थानीयले जानकारी गराएलगत्तै खोरको व्यवस्था गर्न थालेको बताए । उनले भने, ‘तत्काल खोरको व्यवस्था गरेर नियन्त्रणमा लिन्छौँ ।’ हाल मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका केही सामुदायिक वनमा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्रले स्वचालित क्यामेरा जडान गरेर हात्ती, चितुवा, बाघलगायतका जङ्गली जनावरको निरीक्षण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस