सफल जीवन

पुराना वामपन्थी नेता मास्के भन्नुहुन्छ, नेपालका सबै कम्युनिष्ट एक हुनुपर्छ

सूर्यप्रकाश कँडेल

विहीबार, ०३ जेठ २०७५, १६ : ३१
पुराना वामपन्थी नेता मास्के भन्नुहुन्छ, नेपालका सबै कम्युनिष्ट एक हुनुपर्छ

चितवन । पुराना वमपन्थी नेता सूर्यबहादुर मास्के कम्युनिष्ट बन्नु भएको ६५ वर्ष भयो । ८३ वर्षीय मास्केले १८ वर्षको उमेरमा पुष्पलाल श्रेष्ठको हातबाट काठमाडौंमा कम्युनिष्ट पार्टीको सदस्यता लिनु भएको हो । त्यतिबेलाको सिंगो कम्युनिष्ट पार्टी समयक्रममा चिराचिरा भएको देख्दा उहाँको मन पनि टुक्रिएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको कुराले निकै हर्षित मास्के भन्नुहुन्छ, ‘अब नेपालका सबै कम्युनिष्ट पार्टी एक हुनुपर्छ ।’
२०१२ सालमा पद्मोदय हाइस्कुल काठमाडौंमा विद्यार्थी युनियनको अध्यक्ष रहनु भएका मास्केले २०१३ सालमा शिक्षक तालिम लिएपछि गोरखामा पढाउन थाल्नुभयो । काठमाडौंबाट सुरु गरेको वामपन्थी राजनीति उहाँले पुख्र्यौली थलो गोरखामा छाड्ने कुरै भएन । जीवनभर शिक्षाको उन्नयन र वामपन्थी राजनीतिलाई फराकिलो बनाउने काममा लाग्नु भएका मास्केलाई एमाले र माओवादी केन्द्रमात्र नभई नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता भएको हेर्ने इच्छा छ ।
‘नेपाल कम्युनिष्ट पार्टीले बम राख्यो रे, बिस्फोट गरायो रे भन्ने सुन्नु नपरोस्’ रोगले थलिएर ओछ्यान पर्नु भएका उहाँले कुराकानीका क्रममा भन्नुभयो, ‘विप्लवले वैद्यले पनि कि पार्टीको नाम फेर्नुप¥यो, कि एकतामा आउनु प¥यो ।’ जीवनको उत्तराद्र्धसम्म आइपुग्दा पनि साम्यवादको सपना नछाड्नु भएका मास्के भन्नुहुन्छ, ‘कम्युनिष्टहरुले जनवाद, जनवादपछि समाजवाद र समाजवादपछि साम्यवाद भन्दै आयौँ । कसैले कसैलाई अत्याचार नगर्ने, अन्याय नगर्ने, सबैले काम गरेर खाने, हाँसीखुसी जीवन बिताउने त्यस्तो अवस्था आउनु प¥यो ।’


डिठ्ठा सा'बका काहिँलो छोरा
१९९२ साल मंसिरमा भोजपुर जिल्लामा आमा मायादेवीको कोखबाट जन्मनु भएका मास्केका बुबा दिलबहादुर त्यतिबेला डिठ्ठा हुनुहुन्थ्यो । सात जना दाजुभाइमध्ये काहिँला मास्केका चार जना दिदीबहिनी छन् । पुख्र्यौली घर गोरखा भएपनि बुबाको सरुवा जता हुन्थ्यो, त्यतै मास्केको बाल्यकाल बित्यो । २०१२ सालमा पद्मोदय हाइस्कुल काठमाडौंबाट एसएलसी दिनु भएका मास्के त्यसपछि शिक्षा सेवामा प्रवेश गर्नुभयो ।

२०१६ सालमा चितवनको पिठुवा झर्नु भएका मास्केले २०१७ सालमा गोरखाकी इन्दिरा कायस्थसँग बिहे गर्नुभयो । बिहेअघि नै कम्युनिष्ट पार्टीमा सक्रिय इन्दिराको साथ पाएर मास्के कम्युनिष्ट आन्दोलनमा अघि बढ्नुभयो । शैक्षिक विकासमा पनि योगदान दिइरहनु भयो । अहिले श्रीमती इन्दिरा, जेठो छोरा सरोज र बुहारी रजनी र नातिनी श्रीजासँगै नारायणगढमा बुढ्यौली दिन काटिरहनु भएका मास्केले टेलिभिजनमा देश, विदेशका खबर हेर्न र सुन्न भने छाड्नु भएको छैन ।
जेठो छोरातिरका नातिनीहरु रिजा अमेरिकामा र सलोनी अस्ट्रेलियामा पढ्दै छन् । नाति शिरिष पनि अस्ट्रेलियामै अध्ययनरत छन् । उहाँको कान्छो छोरा मनोज, बुहारी कञ्चन, नाति रिजन र नातिनी रेशा अमेरिकामा छन् । मास्केकी एकमात्र छोरी समझ श्रेष्ठ पनि सपरिवार अमेरिकामै हुनुहुन्छ ।


खुर्सानी आन्दोलन
विद्यार्थी जीवनमा निकै क्रान्तिकारी स्वभावका मास्के विभिन्न आन्दोलनमा सहभागी हुनुभयो । ‘काठमाडौंमा हामीले खुर्सानी आन्दोलन ग¥यौं । नेपालको जम्मै खुर्सानी भारत लगेर बेच्ने काम भयो भनेर त्यसको विरोधमा हनुमानढोका प्रहरी कार्यालय घेराउ गर्दा प्रहरीले गोली चलायो’ विगत सम्झँदै उहाँ भन्नुहुन्छ, ‘त्यतिबेला मातृकाप्रसाद कोइरालाको सरकार थियो । प्रहरीले चलाएको गोली कोइरालाकै मान्छेलाई लाग्यो । त्यसपछि भागाभाग भयो ।’

भोकमरी आन्दोलन
शिक्षक भएर गोरखामा रहँदा पनि मास्के आन्दोलनमा सहभागी हुन छाड्नु भएन । ‘सरकारसँग झगडा परिरहन्थ्यो । हामीहरुले भोकमरी आन्दोलन चलायौँ । त्यतिबेला अनिकालको बखत थियो । कसैको घरमा पनि खानेकुरा केही थिएन’ भोकमरी आन्दोलन प्रष्ट्याउँदै उहाँले भन्नुभयो, ‘बडाहाकिमले बाढीपीडितलाई भनेर राखेको सरकारी रासन दिएनन् । ठूलो आमसभा भयो गोरखामा । पार्टीका ठूला नेता पनि आएका थिए तर केही बोल्न सकेनन् ।’
विद्यार्थी फेडरेसनको नेता भएकोले मास्केले पनि त्यो आमसभामा भाषण गर्ने मौका पाए । ‘मैले अब सरकारी रासन लुटेर खाने, त्यसको पैसा तिर्ने हो भनी भाषण गरेँ । हामीले रासन लुटेपछि हामीलाई जेल हाल्नु पर्छ । जेलमा रासनपानी दिनुपर्छ । त्यसैबाट बचाएर घरमा पनि पठाउन सकिन्छ भनेर मैले भाषण ठोकेपछि प्रहरीले लाठीचार्ज गर्न सुरु ग¥यो । मास लगाइएको नजिकैको बारीमा पसेर त्यतिबेला बचेँ ।’


शैक्षिक जागरणमा अगुवा
शक्ति माध्यमिक विद्यालय गोरखाबजारमा शिक्षक हुँदा मास्के त्यही विद्यालयको सञ्चालक समिति सचिव पनि बन्नुभयो । दुई वर्ष विद्यालय नछाड्ने शर्तमा शिक्षा कार्यालयबाट माध्यमिक विद्यालयको स्वीकृति ल्याउन सफल मास्केले त्यो वचन भने पूरा गर्न सक्नु भएन ।
‘यो २०१६ सालतिरको कुरा हो । चितवनमा राप्ती दून परियोजनाले जग्गा बाँडेको थियो । म पनि जग्गा लिन पिठुवा पुगेँ । तीन वटा प्लट मिलाएर १५ बिघा जग्गा दर्ता गराएँ’ चितवन आगमनको किस्सा सुनाउँदै उहाँले भन्नुभयो, ‘त्यतिबेला चितवनमा जम्मा सात वटा प्राइमरी स्कुल थिए । जिल्ला शिक्षा सुपरभाइजर कार्यालयले मलाई निरीक्षकको रुपमा चितवनमै काममा खटायो । काउलेको डाँडादेखि ठोरीको फाँटसम्म दस वर्षजति विद्यालय खोल्ने अभियानमा खटिएँ ।’ २०१८ सालमा उपरदाङगढीमा रहेको बालकुमारी स्कुल नारायणगढमा सार्न मास्केको उल्लेखनीय भूमिका रहेको थियो ।
सरकारले अनिवार्य निःशुल्क शिक्षा अभियान ल्याएर ७५ प्रतिशत स्थानीयवासी र २५ प्रतिशत सरकारले ब्यहोर्ने गरी विद्यालय स्थापना गरी शिक्षकलाई काममा लगाउने गरेको मास्केले बताउनु भयो । ‘जनताले पैसा दिन सकेनन् । मास्टरले भोको पेट कति दिन काम गर्ने ?’ मास्केले भन्नुभयो, ‘समस्या समाधानका लागि सरकारले २०२८ सालमा नयाँ शिक्षा लागु ग¥यो चितवन र पोखरामा ।’


विद्यालय निरीक्षक हुँदा राम्रो काम गरेपछि मास्के सहायक शिक्षा अधिकारी बन्नुभयो । त्यतिबेला योग्यताको आधारमा आफूले शिक्षक नियुक्ति गरेकोले आफूसँग धेरै शिक्षक खुसी भएको मास्केले बताउनु भयो । २०३२ सालमा पशुपति शमशेर राणा शिक्षामन्त्री हुँदा शिक्षा विभागबाट पाँच सय रुपैयाँसहित मास्के सम्मानित हुनुभयो । ‘त्यो पाँच सय रुपैयाँ त सिडियो र शिक्षा अधिकारी मिलेर भोजमा सिध्याइदिए’ उहाँले हाँस्दै भनुभयो ।

सामाजिक क्षेत्रमा सक्रियता
राजनीति र शिक्षा क्षेत्रमा सक्रिय मास्के पछिल्लो समय सामाजिक क्षेत्रमा क्रियाशील हुनुभयो । अहिले ज्येष्ठ कम्युनिष्ट मञ्चको सल्लाहकार रहनु भएका मास्के गोरखामा हुँदा बाल संगठनको जिल्ला सभापति र पछि केन्द्रीय उपाध्यक्ष हुनु भएको थियो । चितवनमा सुस्त मनस्थिति कल्याण संस्थाको संस्थापक बन्नु भएका उहाँको संलग्नता नेपाल रेडक्रस सोसाइटी, नेत्रज्योति संघ, लायन्स क्लब लगायतका संस्थामा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस