वीरगञ्जमा एमाले र लोसपाबीच गठबन्धन हुने, मेयरमा एमाले र उपमेयरमा लोसपा उठ्ने

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १२ : ३०
वीरगञ्जमा एमाले र लोसपाबीच गठबन्धन हुने, मेयरमा एमाले र उपमेयरमा लोसपा उठ्ने

काठमाडौं ।वीरगञ्ज महानगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन गर्ने निर्णय भएको छ।बिहीबार वीरगञ्जमा दुबै पार्टीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी महानगरमा गठबन्धन गरेर निर्वाचनमा जाने जानकारी गराएकाे हाे।

वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा महानगरको मेयरमा एमालेको तर्फबाट विजय कुमार सरावगी र उपमेयरमा लाेसपाबाट पुरुषोत्तम झा उम्मेदवार हुने बताइएकाे छ।सरावगी महानगरका वर्तमान मेयर हुन्। उनी ०७४ सालको स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए। उनी अहिले एमाले प्रवेश गरिसकेका छन्।उपमेयरमा भीड्न लागेका झा लोसपा पर्साका अध्यक्ष हुन्।

पत्रकार सम्मेलनमा उपस्थित भएका लोसपाका नेता एवम सांसद लक्ष्मणलाल कर्णले देशमा आवश्यकता पर्ने अन्य स्थानमा पनि एमाले र लोसपाबीच गठबन्ध हुने जानकारी दिए।राजनीतिमा झगडा र मिल्ने कुरा भइरहने भन्दै उनले हिजो लोसपा र एमालेबीच झगडा भए पनि अहिले आएर मिलेको बताए।

बुधबार नै सत्ताधारी दलहरूले बनाएकाे गठबन्धनबाट वीरगञ्ज महानगरको मेयर जसपा र उपमेयर नेपाली कांग्रेसले लिने निर्णय भइसकेको छ।

प्रतिक्रिया दिनुहोस