गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने

सफल खबर संवाददाता

आइतबार, ०४ बैशाख २०७९, १५ : २७
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने

काठमाडौं । निर्माण कार्य सम्पन्न भइ व्यावसायीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ ।

यसैगरी मन्त्री आलेले कोरोना संक्रमणदर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४ सैं घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले सो विमानस्थलमा आन्तरिक उडान सुरु गर्नेछन् । अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि सुरु हुने प्राधिकरणले जनाएको छ ।

यसैगरी अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दसैँसम्ममा उक्त विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने गरी काम सुरु भएको बताइएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तर्राष्ट्रिय उडान सुरु गरिने महानिर्देशक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस