कोरोना महामारीमा नेपालको सक्रियता उदाहरणीय : डब्ल्युएचओ प्रमुख डा टेडरोस

सफल खबर संवाददाता

सोमबार, २८ चैत्र २०७८, १५ : २०
कोरोना महामारीमा नेपालको सक्रियता उदाहरणीय : डब्ल्युएचओ प्रमुख डा टेडरोस

काठमाडौँ । काठमाडौंमा आइतबार शुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलनको औपचारिक उद्‌घाटन आज (सोमबार) भएको छ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हिजो शुरु भएको सम्मेलनको उद्‌घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज गरेका हुन्। सो अवसरमा परिषदका सदस्यसचिव डा प्रदीप ज्ञवालीले सम्मेलनको आवश्यकता र महत्वबारे चर्चा गरेका थिए।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएको शुभकामना सन्देशसमेत पढेर सुनाएका थिए। प्रधानमन्त्रीले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा क्रियाशील भएर लाग्नसमेत नेपाली स्वास्थ्य वैज्ञानिकसँग आग्रह गरेका छन्।उनले सरकारको गुणस्तरीय स्वास्थ्य अनुसन्धानलाई प्रोत्साहन गर्ने र त्यसबाट प्राप्त तथ्यका आधारमा स्वास्थ्य नीति बनाउन अभिप्रेरित भएको भन्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषदले यस विषयमा खेलेको भूमिका राम्रो रहेको सन्देशमा उल्लेख गरेका छन्।

‘हामी निरोगी नेपाल बनाउने अभियानमा छौँ। यसका लागि सबैले आधुनिक उपचार पद्धतिको विकास सँगसँगै आयुर्वेदिक तथा वैकल्पिक उपचार पद्धतिको समेत प्रवर्द्धन गर्नुपर्ने हुन्छ। यसलाई अझ प्रभावकारी बनाउन अन्तरराष्ट्रिय ज्ञान सीपको समेत आवश्यकता हुन्छ। त्यसका लागि परिषदले आवश्यक भूमिका खेलोस्,’ प्रधानमन्त्री देउवाले सन्देशमा भनेका छन्।

कार्यक्रमका मुख्य वक्ता विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेडरोस एडनम गेब्रेससले भिडियोमार्फत सम्मेलनमा आफ्नो धारणा राखेका थिए। उनले कोभिड १९ को महामारीमा बेला नेपालको स्वास्थ्य क्षेत्रले देखाएको सक्रियता उदाहरणीय रहेको बताएका थिए। उनले नेपालको स्वास्थ्य अनुसन्धान क्षेत्रलाई थप प्रभावकारी बनाउन सम्मेलन सहयोगी बनोस् भन्दै शुभकामनासमेत दिएका थिए। सम्मेलन भोलि सकिनेछ।

प्रतिक्रिया दिनुहोस