काठमाडौं । ग्रीसस्थित सोलिडारिटी ट्राक्सले नेपालसहित ८ देशका युवा प्रशिक्षकहरुलाई भक्तपुरमा सामाजिक उद्यमशीलताबारे तालिम दिएको छ।संस्थाको सहयोगमा आआफ्नो देशमा सामाजिक उद्यमशीलताबारे परियोजना सञ्चालन गरिरहेका युवा प्रशिक्षकहरुलाई दोस्रो चरणको नौदिने तालिम दिइएको हो।
तालिममा नेपालसहित अर्जेन्टिना, ग्रीस, पोल्याण्ड, फ्रान्स, भारत, भियतनाम र स्पेनका १६ जना सामाजिक उद्यमी युवाहरुको सहभागिता रहेको थियो।
ग्रीसस्थित सामाजिक संस्था सोलिडारिटी ट्राक्सअन्तर्गत नै दुई वर्षअघि भक्तपुरमा ‘एस क्लवस् युवा उद्यमी सामाजिक क्लव’ कार्यक्रमको पहिलो बैठक बसेको थियो। उक्त बैठकले सुरु गरेको युवा उद्यमशीलता कार्यक्रममार्फत परियोजना हात पारेका उद्यमशील युवाहरुलाई भक्तपुरमै दोस्रो चरणको तालिम दिइएको हो।
ग्रीसमा भएको पहिलो चरणको तालिममा सहभागी सामाजिक उद्यमीलाई भक्तपुरमा दोस्रो चरणको तालिम दिइएको जानकारी दिए। सामाजिक उद्यमशील युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
तालिममा विभिन्न देशहरुमा सञ्चालित सामाजिक उद्यमशीलताका परियोजनाको सफलताका कथाहरुबारे चर्चा गरिएको थियो, जसबाट एकअर्काबीच नयाँ सोच र विचार आदानप्रदानसमेत भएको छ।युवाहरुलाई समाजप्रति थप उत्तरदायी र जिम्मेवार बनाउन अनलाइन कक्षापछि तालिम सञ्चालन गरिँदै आएको छ।
तालिममा ८ देशबाट दुई–दुईजना उद्यमशील युवाहरु सहभागी भएका थिए। उनीहरुले सोलिडारिटी ट्राक्सबाट कुनै न कुनै रुपमा सामाजिक उद्यममा परियोजना सञ्चालनसमेत गरिरहेका छन्। ‘हाम्रो संस्थामार्फत केही सहयोग पाएर आआफ्नो देशमा सामाजिक उद्यमको परियोजना सञ्चालन गरिरहेका युवाहरुको क्षमता अभिवृद्धि गर्न नियमित सञ्चालन हुने तालिमको दोस्रो चरण नेपालमा आयोजना गरेका हौं’, सोलिडारिटी ट्राक्सका अध्यक्ष मोहम्मद चौबानीले भने।
उनका अनुसार सामाजिक उद्यमशील युवाहरुलाई आफू बसेको समाजको समस्या पहिचानसँगै त्यसको समाधानका बाटाहरु पहिल्याउन सक्षम बनाउनु तालिमको उद्देश्य हो। संस्थाले सम्बन्धित देशका युवासँग सम्बन्धित देशका संघसंस्थासँग साझेदारीमा काम गर्दै आएको छ ।
जुनसुकै देशका युवाहरुले अनलाइनमार्फत सामाजिक उद्यमशीलताबारे जानकारी र तालिम लिन आवेदन दिन सक्नेछन्। आवेदन दिएका युवाहरुको क्षमता र आवश्यकताअनुसार संस्थाले तालिम दिने र उनीहरुको सामाजिक उद्यममा संस्थाले परियोजनाको रुपमा आर्थिक सहयोगसमेत गर्ने भएको छ । ‘परियोजना समाजको आवश्यकता हुनुपर्छ। त्यसमा समाजले पनि आफ्नो योगदान गर्नुपर्छ’, अध्यक्ष चौबानीले भने, ‘हामीले बढीमा आधा बजेट सहयोग गर्छौं। सहयोग गरेअनुसार समाजमा सकारात्मक प्रभाव एवं परिवर्तन आउनुपर्छ। जुन अधिकांश देशमा सफल भइरहेको छ।’
संस्थाले समाज सेवालाई पहिलो प्राथमिकताको रुपमा सामाजिक उद्यमशीलतासम्बन्धी अनलाइन कक्षा, तालिम र परियोजना सञ्चालन गर्दै आएको छ। ‘कुनै व्यक्ति व्यवसायिक हुन पहिले ऊ समाजप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्छ । समाज सेवा नगर्नेहरु कतै पनि सफल हुँदैनन्। उनीहरुले पैसा पनि कमाउन सक्दैनन्।’
सोलिडारिटी ट्राक्सबाट ५ हजारभन्दा बढी युवाहरु सामाजिक उद्यमी एवं अभियन्ता बनेका छन्। सन् २०१३ मा केही देशबाट सुरु गरिएको सोलिडारिटी ट्राक्स कार्यक्रम अहिले ८ देशमा विस्तार भएको छ। उक्त कार्यक्रममा सहभागी हुने कम्तीमा पाँचजना युवाको समूह हुनुपर्छ। जसले अनलाइनमार्फत शिक्षा हासिल गर्छ। जुन शिक्षाले आफू बसेको समाजका समस्या पहिचान गर्छ। समस्यासँगै समाधान गर्न समुदायमा उपलब्ध स्रोतसाधनको पहिचान गर्न सघाउँछ। उक्त कार्यक्रममा नेपालका दुई सय ३७ जना युवाहरु आवद्ध भइसकेका छन्। तालिमपछि सहभागीहरुलाई काठमाडौँ उपत्यका सम्पदाहरुको भ्रमणसमेत गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, १० : ५५
लेखकबाट थप