अभिनेता भुवन केसी काठमाडौं महानगरको मेयर पदमा उठ्ने

सफल खबर संवाददाता

बुधबार, २३ चैत्र २०७८, ०८ : २३
अभिनेता भुवन केसी काठमाडौं महानगरको मेयर पदमा उठ्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा अभिनेता भुवन केसी उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीले ०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयरमा उठाउने निर्णय गरेको हो।

अध्यक्ष स्वागत नेपालद्धारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो।उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको छ । 

मेयरका उम्मेदवार केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको अध्यक्ष नेपालले बताएका छन्। विज्ञप्तीमा भनिएको छ, 'उहाँहरु दुवै उम्मेदवार सहित उन्नत लोकतन्त्र पार्टीका देशभरका सबै उम्मेदवारहरुले मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च गर्नु हुने छैन । साथै उहाँहरु लगायत यस पार्टीका सबै उम्मेदवारले आफ्नो सम्पत्ति विवरण पहिला सार्वजनिक गरेर मात्र उम्मेदवारी दर्ता गर्न पाउने पार्टीको निर्णय रहेको छ । 

साथै उहाँहरु लगायत यस पार्टीका सबै उम्मेदवारले आफूले गरेका वाचा जनता सामू तमसुक गरेर सो वाचा पूरा नगरे सोही तमसुकपत्रका आधारमा आफूलाई दिएको भोट फिर्ता लिएर पदबाट बर्खास्त गर्न करार नै गरिदिनु हुनेछ, सो करार अनुसार उहाँहरु उपर मुद्दा लाग्ने कुरामा समेत सहमति रहने पार्टीको निर्णय रहेको छ ।' 

प्रतिक्रिया दिनुहोस