बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको संस्थापन इतर समूह चुनावी गठबन्धनको विपक्षमा देखिएको छ । प्रदेशका कतिपय जिल्लामा चुनावी गठबन्धनको तयारी भइरहेका बेला कांग्रेसको संस्थापन इतर समूहले भने आफूलाई गठबन्धनको विपक्षमा उभ्याएको हो ।
लुम्बिनी प्रदेशका कतिपय जिल्लामा गठबन्धन गरेर चुनाव लड्ने तयारी भइरहेका बेला संस्थापनइतर समूहको यस्तो धारणा आएको हो । अर्घाखाँचीमा पाँच दलले गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेका छन् भने रुपन्देहीमा चुनावी तालमेलका लागि संयन्त्र गठन गरिएको छ ।
तर यसमा देउवा समूहका नेता मात्रै सहभागी छन् । रुपन्देहीमा संयन्त्र गठन गर्ने बैठकमा पनि संस्थापन निकट नेता मात्रै सहभागी थिए । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गठबन्धन गरेर चुनावमा जाँदा कांग्रेस कमजोर हुने बताए । “कांग्रेस कमजोर हुनेगरी गरिने गठबन्धन हामीलाई स्वीकार्य छैन,” उनले भने ।
सभापति पुनले कांग्रेस एक्लै चुनाव लड्दा पनि दुई तिहाइ स्थानीय तह जित्ने दाबी गरे । यद्यपि स्थानीय तहका पार्टी तहका कमिटीले निर्णय गरेमात्रै तालमेल सम्भव हुने उनको भनाइ छ । “यसको जिम्मा पालिका कमिटीलाई नै छोडिदिनुपर्छ, कसैले निर्णय लादेको भरमा तालमेल सम्भव छैन,” उनले भने ।
कार्यकर्ताको भावनाविपरीत तालमेल गरिए अनपेक्षित परिणाम आउने पनि उनले चेतावनी दिए । “आमकार्यकर्ताको चाहना तालमेल नहोस् भन्ने छ, कार्यकर्ताको भावनाविपरीत अघि बढ्न खोजिए नसोचेको परिणाम आउँछ,” सभापति पुनले भने ।
नेपाली कांग्रेस बुटवल उपमहानगर कमिटी सदस्य खेलराज पाण्डेले जिल्लामा गठबन्धनको संयन्त्र गठन भएकोबारे आफूलाई जानकारी नभएको बताए । संस्थापनइतर समूहका नेता पाण्डेले भने, “म काठमाडौंमा थिएँ, तालमेलका लागि संयन्त्र गठन भएकोबारे मलाई जानकारी भएन ।” कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले पार्टीलाई कमजोर पार्ने भूमिका कसैले खेल्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० चैत्र २०७८, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने