विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १६ : ४०
विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित एक विद्यालयका व्यवस्थापन समिति अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

समितिका अध्यक्ष झंकरबहादुर बम, सदस्य धीरेन्द्रबहादुर विष्ट, कमला रावल (विष्ट), शिक्षक प्रतिनिधि कमलबहादुर शाही, प्रधानाध्यापक तथा सदस्य-सचिव जनकबहादुर थापा र आरएस सःमिलका प्रोप्राइटर रमेश थापाविरूद्ध अख्तियारले  बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।त्यसमध्ये निजी शिक्षकको रूपमा कार्यरत कमलबहादुर कालिका सामुदायिक वन उपभोक्ता समूह अध्यक्षसमेत हुन् । 

सामुदायिक वन अध्यक्ष भएका बेला शाहीले समूहको कोषको रकम विद्यालयलाई अनुदान उपलब्ध गराएको देखाएर विद्यालयको खातामा भएको रकम हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ । समूहले टेण्डरमार्फत गोलिया काठ लिलाम गरी विद्यालयलाई शैक्षिक अनुदान दिएको रकम २०७१ कात्तिक १८ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयलाई अनुदान ऋण उपलब्ध गराउँदै आइरहेको भनिएका आरएस सःमिलका प्रोप्राइटर रमेश थापालाई विद्यालयको ८ लाख रुपैयाँ उपलब्ध गराएको आरोपपत्रमा उल्लेख छ । 

बिगोबमोजिमको ८ लाख रूपैयाँ ती प्रतिवादीहरूबाट असुल उपर गरी विद्यालयलाई भराउन मागदाबी गरिएको छ । आरएस सःमिलका प्रोप्राइटर थापाले विद्यालयको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको कार्यलाई मतियारको रुपमा सघाएर भ्रष्टाचार गरेको भन्दै उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस