दक्षिण एसियाको शान्ति र समृद्धिका लागि चीन गम्भीर छ: देव गुरुङ

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १५ : ५१
दक्षिण एसियाको शान्ति र समृद्धिका लागि चीन गम्भीर छ: देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले दक्षिण एसियाको शान्ति र समृद्धिका लागि चीन गम्भीर रहेको पाएको बताएका छन । चीनको कुन्मिङमा आयोजित चाइना फाउण्डेसन फर पीस एण्ड डेभलपमेन्टको कार्यक्रममा सहभागी भएर फर्किनुभएका गुरुङले चिनियाँ नेताहरुको भेटमा चीनको चासो र चिन्ता आफूले महसुस गरेको बताए ।

‘शान्ति र विकास एक अर्काबीच पुरक हुन् । शान्ति नभए विकासको कल्पना गर्न सकिदैन’ गुरुङले भन्नुभयो, ‘एसियाको शान्ति र समृद्धिका लागि अमेरिकाअन्तर्गत रहेको इण्डो प्यासेफिक रणनीति असुरक्षा, अशान्ति, द्वन्द्व, अस्थिरता निम्त्याउँछ कि भन्ने चिनियाँहरुको चासो र चिन्ता रहेको मैले महसुस गरें ।’ आइपीएसले एसियामा युद्ध निम्याउन सक्ने भएकाले शान्ति चाहने सबैले त्यसलाई रोक्नु पर्नेमा गुरुङको जोड थियो । 

आइपीएसले नेपालमा पार्ने प्रभावका विषयमा समेत छलफल भएको गुरुङले बताउनु भयो । ‘चीनमा रहँदा आइपीएसले नेपालमा पार्ने प्रभाव र एमसीसीले नेपालमा अमेरिकाको हस्तक्षेप हुन्छ कि हुँदैन भन्ने विषयमा छलफल भयो,’ गुरुङले भन्नुभयो, ‘एमसीसीको ब्याख्यात्मक टिप्पणीसहित पारित भयो, त्यसले एसियामा द्वन्द्व निम्ताउन सक्छ भन्ने विषयमा छलफल भयो ।’ 

यसैबीच चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीसहित एमाले र माओवादी नेताहरुसँग त्रिपक्षीय भेट भएको भन्ने खबर गलत भएको गुरुङले बताए । चिनियाँ कम्युनिष्ट पार्टीसँग माओवादी केन्द्रको औपचारिक÷अनौपचारिक रुपमा नियमित छलफल भए पनि यस भ्रमणका क्रममा एमाले नेताहरुसहित त्रिपक्षीय भेटघाट नभएको स्पष्ट पारे । 

एमाले र माओवादी केन्द्रबीच तत्काल चुनावी तालमेल हुने सम्भावना नरहेको भन्दै नेता गुरुङले सत्ता गठबन्धनभित्रै चुनावी तालमेल हुने बताए । ‘कांग्रेसले गठबन्धन गर्ने सहमति गरिसकेको छ । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाको निम्ति अहिलेको गठबन्धन बनेको हो । यो मुद्धा अहिले पनि टुङ्गिएको छैन’ गुरुङले भन्नुभयो, ‘अहिले प्रणालीमाथि चुनौती छ । संसद अवरोध कायमै छ । यो बेलामा जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति सहकार्य गरेर जाने पार्टीको नीति छ ।’
 

प्रतिक्रिया दिनुहोस