पर्यटकीय गन्तव्य बन्दै पिप्रहर होमस्टे

विप्लव काफ्ले

आइतबार, ३० बैशाख २०७५, १६ : १०
पर्यटकीय गन्तव्य बन्दै पिप्रहर होमस्टे

नवलपुर। नवलपुरको देवचुली नगरपालिका–१७ मा रहेको पिप्रहर सामुदायिक होमस्टेमा पर्यटकको चहलपहल बढ्न थालेको छ । स्थानीय रहनसहन, संस्कृतिलाई नजिकबाट नियाल्न होमस्टे पुग्ने पर्यटक बढेका छन् । चालु आर्थिक वर्षमा २ हजार ५६६ जना पर्यटक पिप्रहर होमस्टे पुगेका छन् । जसमध्ये २ हजार ४५४ जना नेपाली पर्यटक छन् । यस्तै ९० जना सार्क राष्ट्रका पर्यटक छन् भने २२ जना अन्य मुलुकका पर्यटक छन् ।

गत आर्थिक वर्षमा २ हजार ७१५ जना पर्यटक पिप्रहर होमस्टेमा बसेका थिए । जसमध्ये १४ जना विदेशी पर्यटक थिए । चितवन राष्ट्रिय निकुञ्जको सिसुवार उपभोक्ता समिति र तत्कालीन रजहर गाविसको पहलमा २०७२ फागुन १९ गतेदेखि पिप्रहरमा २२ वटा होमस्टे सञ्चालन गरिएको हो । “होमस्टे प्रायः भरिभराउ हुन्छन्”, पिप्रहर सामुदायिक होमस्टे अध्यक्ष झनकबहादुर महतोले भने, “साउनबाहेक सबै महिनामा प्रायः बुकिङ भइरहेका छन् ।”

होमस्टेको प्रचारप्रसार गर्न नसक्दा विदेशी पर्यटक कम आउने गरेका छन् । “नेपाली पर्यटकको संख्या राम्रो छ । तर, पर्याप्त विदेशी पर्यटक आएका छैनन्”, उनले भने, “प्रचारको अभाव छ । विस्तारै पिप्रहर पर्यटनको केन्द्रका रुपमा स्थापित हुनेछ ।” होमस्टेको शिष्टाचार, स्थानीय परिकारका स्वाद, पारिवारिक रहनसहनमा पर्यटक रमाउने गरेका छन् । “साना ठूला सेमीनार गर्ने थालोका रुपमा विकास भएको छ”, उनले भने, “यो वर्षमात्रै ६० भन्दा बढी सेमीनार तथा कार्यक्रम भएका छन् ।” होमस्टेमा बस्न आउने पर्यटक स्थानीयले देखाउने सांस्कृति बढी रुचाउने गर्छन् । “थारु, मगर समुदायका नाच देखाइन्छ”, उनले भने, “समूहगत आउने टोलीले ४ हजार रुपैयाँ तिरेर सांस्कृतिक कार्यक्रम हेर्न पाउनेछन् ।”

उनका अनुसार होमस्टे सञ्चालनबाट यो वर्षमात्रै २३ लाख ९४ हजार ७०६ रुपैयाँ आम्दानी भएको छ । यो आम्दानी पर्यटकले तिर्ने बसाइँ शुल्क, साधरण खानपिन र टुर प्याकेजसहितको रकम हो । यस्तै गत आर्थिक वर्षमा १७ लाख ८४ हजार ९ सय रुपैयाँ आम्दानी भएको थियो । “सुरुको वर्ष होमस्टे सुनसान जस्तै थियो”, उनले भने, “विस्तारै पर्यटक संख्या बढेको छ ।” पिप्रहरमा ८० लाख ९० हजार खर्चेर सांस्कृतिक भवन निर्माण भएको छ । नेपाल पर्यटन बोर्ड, लुम्वीनि क्षेत्र पर्यटन विकास समिति, तराई भूपरिधि (ताल), साविक रजहर गाविस, सिसुवार मध्वयर्ती क्षेत्रले भवन निर्माणमा सघाएका थिए । छिटै सांस्कृतिक संग्रहालय बनाउने योजनासमेत छ ।

“राम्रो आम्दानीको स्रोत बनेको छ” होमस्टे–४ का सञ्चालक खड्कबहादुर महतोले भने, “पाहुनालाई घरमै स्वागत गर्ने दैनिकी बनेको छ । स्वरोजगारको वातावरण बनेको छ ।” सुरुमा बुकिङ भएको होमस्टेको बाँकी होमस्टेमा बुकिङ भएपछि मात्रै पालो आउने प्रावधान छ । जसले धेरैथोरै पर्यटक आएपनि सबै होमस्टेको पालो आउने गर्छ । “जागिर खोज्ने चिन्ता हटेको छ”, उनले भने, “घरका अन्य सदस्य पनि होमस्टे व्यवस्थापन खटिन्छन् ।” पर्यटकले हाँस, लोकल कुखुरा, घोँगी, चिचर लगायतका परिकार बढी रुचाउँछन् ।

होमस्टे आउने पर्यटक निकुञ्जमा हात्ती सफारी, जीप सफारी, चौधरी ग्रुपको शास्वतधाम, देवचुली पदयात्रा, रजहरमा रहेको प्राकृतिक चिकित्सालय घुम्ने गर्छन् । होमस्टेमा चहलपहल बढ्न थालेपछि स्थानीय सडकको स्तरोन्नति गर्ने, गाउँ सफाइ अभियानलगायत काम हुन थालेका छन् । पिप्रहर होमस्टे पुग्न पूर्व–पश्चिम राजमार्गबाट नवलपुरको टाइकोट चोक वा रजहरफर्म चोकबाट करिव २ किमि दक्षिणर्फ लाग्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस