भरतपुर महानगरका १७ घरधुरीले पाए निःशुल्क विद्युत मिटर बक्स , जडान समेत फिरिमै हुने

प्रकाश सिग्देल

बुधबार, ०९ चैत्र २०७८, १७ : ४९
भरतपुर महानगरका १७ घरधुरीले पाए निःशुल्क विद्युत मिटर बक्स , जडान समेत फिरिमै हुने

चितवन । नेपाल  विद्युत प्राधिकरणले चोरी नियन्त्रणका लागि नयाँ रणनिती अबलम्वन गरेको छ । बिद्युत  चोरी नियन्त्रण र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना न्युनिकरण गर्न विपन्न वर्गका नगरवासीलाई निःशुल्क विद्युत मिटर बक्स वितरण थालेको हो । वागमती प्रदेशमा नै पहिलो पटक चितवनको भरतपुर महानगरका विपन्न वर्गका नगरवासीलाई निःशुल्क विद्युत मिटर बक्स वितरण गरिएको छ । भरतपुर महानगरको संयोजनमा नेपाल विद्युत प्राधिकरण भरतपुरले भरतपुर वडा नम्बर २२ का विपन्न वर्गका १७ घरधुरीलाई निशुल्क विद्युत मिटर बक्स वितरण गरेको हो ।

पहिलो चरणमा विपन्नवर्ग र समुदायको पहिचान गरी वडाको सिफारिसमा १७ जनालाई मिटर बक्स प्रदान गरिएको विद्युत् प्राधिकरण भरतपुरका प्रमुख राजिव सिंहले जानकारी दिए । उनले पटिहानी क्षेत्रलाई रेष्टुरेण्ट फिडर प्रदान गर्न लागिएको समेत बताए । मिटर जडानका लागि सेवा शुल्क समेत नलाग्ने उनले जानकारी दिए । सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा प्राधिकरणले निशुल्क मिटर जडान गरिदिने प्राधिकरणका प्रमुख राजिव सिंहले जानकारी दिए । यसो गर्दा विद्युत् चुहावट घट्ने, खपत समेत बढ्ने र मानबिय क्षती समेत नहुने अनुमान प्राधिकरणको छ । सिंहले बिद्युत सम्बिन्धि समस्या परे तत्काल आफुलाई फोन गर्न समेत स्थानियलाई आग्रह गरे ।  

भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपमेयर पार्वती शाह, ठकुरी भूमी आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीना, विद्युत् प्राधिकरण भरतपुरका प्रमुख राजिव सिंह र वडा अध्यक्ष विष्णुराज महत्तोले संयुक्त रुपमा मिटर बक्स वितरण गरेका थिए ।विद्युत मिटर लिएपछि जग्गाको लालपुर्जा नभएर आर्थिक अभावले घरमा मिटर जोड्न समस्यामा परेका महानगरवासीलाई राहत मिलेको छ ।

सो अवसरमा बोल्दै मेयर रेनु दाहालले आर्थिक अवस्था कमजोर भएका (विपन्न वर्ग) घरपरिवारलाई निशुल्क विद्युत मिटर वितरण गर्ने कार्यक्रम कार्यान्वयन हुनु महानगरको एउटा अर्को उपलब्धी भएको समेत स्पष्ट पारिन् । विकास र निर्माणसगैँ जनताका आधारभूत आवश्यकता पुरा गर्ने अभियान अन्र्तगत आफुहरुले विद्युत प्राधिकरणको सहकार्यमा निशुल्क विद्युत मिटर वितरण गर्न पाउदा निकै खुसी लागेको उनको भनाई थियो ।

उपमेयर पार्वति शाह ठकुरीले महानगरमा आफुहरु नेत्रित्वमा आएदेखी हरेक दिन रचनात्मक काम गरेर नगरबासिलाई स्थानिय सरकार प्रति गौरभ गर्न सक्ने अवस्था सृजना गरेको बताईन् ।

विपन्न वर्गले प्राधिकरणको मापदण्ड अनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निशुल्क पाउने प्राधिकरणका ई राजेन्द्र पौडेलले बताए ।

यो कार्यक्रम भरतपुरको अन्य वडामा समेत सुरु हुने प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई निशुल्क मिटर जडान सुरु गरेको हो । सो अवसरमा बिधुत प्राधिकरणका प्रमुख सिंह लगायत अन्यंलाई सम्मान गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस