स्वास्थ्यमा रिक्त बाह्रौँ तहको पदमा बढुवा प्रक्रिया अघि बढ्यो

सफल खबर संवाददाता

आइतबार, ०६ चैत्र २०७८, १३ : १२
स्वास्थ्यमा रिक्त बाह्रौँ तहको पदमा बढुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको स्वास्थ्य सेवा समूहको अधिकृत १२ औं तह (प्रमुख विशेषज्ञ पद) मा बढुवा प्रक्रिया अघि बढाएको छ। आइतबार ( आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले एक सूचना जारी गरेको हो ।

मन्त्रालयमा रिक्त रहेको १२ औं तहमा बढुवा गर्न बढुवा समितिको चैत २ गते निर्णयअनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ २ बमोजिम रिक्त संख्यामा पदपूर्ति गर्नुपर्ने भएकोले २०७८ असारसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६ (१) अनुसार सेवा अबधि पुरा गरेका एघारौं तहका अधिकृत कर्मचारीले १२ औ तहमा प्रतिष्पर्धा गर्न पाउनेछन्।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा समूहअन्तर्गत १२ औँ तहको पद ४ वटा रहेको छ । त्यसमध्ये अहिले एउटा पद खाली भएको छ । गत २ मंसिरमा प्रमुख विशेषज्ञ पदमा बढुवा भएका डा भीमसिंह तिंकरीले गत २ माघमा अवकाश पाएपछि एउटा पद खाली भएको हो । अहिले सोही पदमा बढुवा गर्नका लागि निवेदन मागिएको हो ।स्वास्थ्यमा अहिले डा दीपेन्द्ररमण सिंह, डा श्यामसुन्दर यादव र डा गुणराज लोहनी प्रमुख विशेषज्ञ पदमा कार्यरत छन् ।

बाह्रौं तहको एउटा पदमा बढुवाका लागि स्वास्थ्य मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा. संगिता कौशल मिश्रा, डा. श्रीकृष्ण श्रेष्ठ, डा. विकास देवकोटा, डा. कृष्ण पौडेल लगायतको मुख्य दाबेदारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस