आन्तरिक पर्यटक बढाउन ‘पे नाउ गो लेटर’

रासस

शुक्रबार, ०४ चैत्र २०७८, १४ : ४१
आन्तरिक पर्यटक बढाउन ‘पे नाउ गो लेटर’

चितवन । कोरोनाको सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक आकर्षण गर्न सौराहाको जङ्गल सफारी लजले छुटृै  प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ ।अहिले तिरेरपछि उपभोग गर्न पाउने गरी ‘पे नाउ गो लेटर’ प्याकेज सार्वजनिक गरिएको हो ।सो बमोजिम चैत महिनाभित्रमा विशेष छुटमा रकम भुक्तान गरेमा आउँदो वर्ष होटल उपयोग गर्न पाइने छ । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार तीन रातका लागि यो अफर उपलब्ध गराइएको छ । जसमा दिन र रातको जम्मा रु चार हजार पाँच सय मात्रै तिरे सुविधायुक्त कोठा उपलब्ध हुनेछ । सामान्य अवस्थाको तुलनामा यो अफरमा सहभागी हुनेले ६६ प्रतिशत छुट पाएको उनको भनाइ थियो ।

यो अफरका लागि रकम अग्रिम भुक्तानी गर्नुपर्ने र होटलले सो रकम पाएपछि एउटा नंम्बर सहितको भौचर उपलब्ध गराइनेछ । कुपन जस्तै भौचर ग्राहकले राख्नुपर्नेछ । सो भौचर पाउन यही चैत मसान्तसम्म अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ । भौचर लिएर २०७९ साल वैशाख २ देखि चैत २७ सम्म जुनसुकै महिना वा दिनमा आएर बस्न सकिनेछ । कुपन भने तोकिएको समयभित्रै लिनुपर्ने र बसोबासका लागि यही मूल्यमा जहिले आए पनि हुने सञ्चालक घिमिरेले बताए। भौचरमा तोकिएको मितिभन्दा अन्य दिनमा आउने ग्राहकले एक साताअघि कोठा बुक गर्नुपर्ने हुन्छ । आन्तरिक पर्यटकलाई केन्द्रमा राखेर यो अफर ल्याएको उनको भनाइ थियो ।

गत वर्ष  पनि उक्त होटलले असार र साउन महिनामा सोही  अफर ल्याएको थियो । त्यतिबेला ३०० जनाले उक्त प्याकेजको सेवा लिन भुक्तानी गरेका थिए । पैँतिस कोठा भएको यो होटलमा पौडी पोखरी, एक सय जना अट्ने सभा कक्षलगायत सुविधा छ ।   
 

प्रतिक्रिया दिनुहोस