यस्तो छ निर्वाचन आचारसंहिता, उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

पत्रपत्रिकाबाट

शुक्रबार, ०४ चैत्र २०७८, ०८ : ०४
यस्तो छ निर्वाचन आचारसंहिता, उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

काठमाडौं । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहेमा हाल कार्यरत जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ। राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा बहाल रहेका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधान छ।  

राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिताको दफा ३६ मा उल्लेख गरिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेका निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि बहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ।’

निर्वाचन आयोगले तयार पारेको आचारसंहिता केही दिनपछि लागू हुने जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले गराएका छन्। ‘आयोगले मिति तोकेपछि आचारसंहिता लागू हुनेछ,’ उनले भने, ‘आयोगले मतदातादेखि प्रधानमन्त्रीसम्मका लागि आचारसंहिता जारी गरेको छ। चैतको दोस्रो साताबाट निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने सम्भावना छ।’  

आचारसंहितामा सामाजिक सञ्जालमा गर्न नहुने कुराहरू समेत समावेश गरिएको छ। आयोगले तोकेको मितिपछि सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युब, टिकटकलगायतमा निर्वाचनलाई प्रभाव पार्ने, गलत र भ्रामक सूचना प्रवाह गर्न वा गराउन पाइने छैन। निर्वाचनमा प्रभाव पार्ने खालका एकाउन्ट र साइटहरू सञ्चालन गर्न वा गराउन पाइने छैन। चरित्र हत्या हुने र व्यक्तिगत लाञ्छना लगाउने प्रकृतिका सामग्री प्रकाशन वा प्रसारण गर्न वा गराउन पाइने छैन। त्यस्तै निर्वाचनको मत सर्वेक्षण सार्वजनिक गर्न रोक लगाइएको छ।

निर्वाचन आचारसंहिता २०७८ को चार नम्बर बुँदामा उल्लेख गरिएको छ, ‘उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न पाइने छैन।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस