छाउपडी प्रथा अन्त्य गर्ने प्रयास

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, १५ : ४०
छाउपडी प्रथा अन्त्य गर्ने प्रयास

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले समाजमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्त्य नै गर्ने प्रयास अघि बढाएको छ । पहिलो चरणमा छाउपडी प्रथाविरुद्धको सचेतना अभियान थालेको उक्त गाउँपालिकाले पछिल्लो समय छाउपडी नबार्ने परिवारलाई सम्मान गर्न थालेको छ ।  

छाउपडी प्रथा समाजकै कुरीति भएकाले जरैदेखि उखेल्नका लागि विभिन्न विकल्प अघि सारिएको गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बताइन् ।  महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत छाउपडी जस्ता कुरीतिलाई निरुत्साहित गर्ने कार्य भइरहेको जानकारी दिँदै उनले भनिन्, “छोराछोरी बीच गहिरो विभेद छ । छाउपडी प्रथाले समाजमा हिंसा निम्त्याइरहेको छ । यी दुवैलाई गाउँपालिकाबाट निर्मूल पार्ने अभियान थालिएको हो । छोरीलाई छोरासरह सम्पत्ति दिने र छाउपडी हुँदा घरमै बस्न दिने परिवारलाई सम्मान पनि गरिएको छ ।” 

गाउँपालिकाले छोरा समान छोरीलाई सम्पत्ति दिएकामा जिरा रोकाया, मुगा शाही, डुगल शाही, आनन्द शाहीलाई सम्मान गरेको छ । छाउपडी प्रथा बार्ने नगरेका स्थानीयवासी खाम्बा शाही, राजबहादुर शाही र देबु सुनार पनि सम्मानित भएका छन्। भेदभावरहित समाज निर्माण अभियानमा सबैको साथ र सहयोग आवश्यक छ ।  समाज अझै  छोरा जन्माउनकै लागि धेरै सन्तान जन्माउने परम्परामा बाँधिएको छ । सो कामलाई अन्त्य गर्न स्थानीय सरकार लागिपरेको गाउँपालिकाकी उपाध्यक्ष रोकायाले जानकारी दिइन् । गाउँपालिकामै १९ जनाले छोरीलाई पैतृक सम्पति दिएको विवरण गाउँपालिकाले सङ्कलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । 

प्रतिक्रिया दिनुहोस