‘नाई नभन्नू ल-६’ मा नयाँ अभिनेता र अभिनेत्री खोजिँदै

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १३ : २९
‘नाई नभन्नू ल-६’ मा नयाँ अभिनेता र अभिनेत्री खोजिँदै

काठमाडौं । लेखक हुँदै निर्देशक बनेका विकासराज आचार्यले ‘नाई नभन्नु ल २’ पश्चात यसलाई सिरिजको रूपमा अगाडि बढाइरहेका थिए। तर, उनले यसलाई ब्रेक गर्दै बाहिरी ब्यानरको फिल्म ‘हजार जुनीसम्म’ निर्देशन गरे । उनले सिरिजलाई निरन्तरता नदिई नयाँ नाममा फिल्म गरे । यद्यपि, फिल्म ’बक्स अफिस’ मा सफल हुन् सकेन ।

त्यसपश्चात निर्देशक आचार्य आफ्नै सफल सिरिजमा फर्किने भएका छन् । उनले केही समय अगाडि नै फिल्मलाई तयार गर्ने सोच बनाएका थिए । तर, कोरोनाभाइरसद्वारा सिर्जित अवस्थाले गर्दा फिल्म छायांकनमा जान सकेको छैन । 

कोरोना भाइरसको तेस्रो लहरको प्रभाव न्यून भएसँगै फिल्म छायांकनमा जाने तयारीमा छ । वैशाखबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा सलोन बस्नेतको अभिनय रहने पक्का छ । फिल्मको कथा लेखन स्वयं निर्देशक आचार्यकै छ । कथालाई पटकथामा सामीप्यराज तिमल्सिनाले आचार्यलाई साथ दिएका छन् । पटकथाकार तिमल्सिनाले फिल्मको लागि अभिनेत्री खोजिरहेको बताए । 

‘हामी अभिनेत्री खोजिरहेका छौँ । कथामा रहेको पात्र सुहाउँदो अभिनेत्री भेटाए सेलेक्ट गर्छौ,’ तिमल्सिनाले भने । उनले फिल्ममार्फत अभिनेताको रूपमा नयाँ अनुहारले डेब्यु गर्ने पनि बताए । 

तीन अभिनेत्री र एक अभिनेताको कथामा बन्ने फिल्ममा एक अभिनेत्री समेत डेब्यु अनुहार हुनेछिन् । ‘स्थापित सिरिजमार्फत प्रतिभा भएका नयाँ अनुहारलाई मौका दिने उद्देश्यका साथ कथामा सुहाउँदो भएकाले नयाँ अनुहारको खोजिभइरहेको हो,’ तिमल्सिनाले भने ।
 

प्रतिक्रिया दिनुहोस