बाइडेनले पुटिनलाई चेतावनी दिदैं भने : 'तानाशाहले मूल्य चुकाउँछन्'

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १० : ५७
बाइडेनले पुटिनलाई चेतावनी दिदैं भने : 'तानाशाहले मूल्य चुकाउँछन्'

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र नेटोले युक्रेनको साथमा उभिएर पश्चिम एकढिक्का भएर खडा भएको देखाएको बताएका छन् । अमेरिकी संसदलाई सम्बोधन गर्दै बाइडेनले यस्तो बताएका हुन् । 

उनले संसदलाई सम्बोधन गर्ने क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको चर्को आलोचना गरेका छन् । 'इतिहासले देखाउँछ, जबसम्म तानाशाहले आफ्नो हमलाको मूल्य चुकाउँदैन, तबसम्म उसले अझ धेरै अराजकता पैदा गर्न सक्छ’, बाइडेनले भने । 

‘हामी हालत ठीक भएको देख्नेछौँ । जब इतिहास लेखिनेछ तब युक्रेनविरुद्ध पुटिनको युद्धले रुसलाई अझ कमजोर बनाउनेछ र विश्वलाई अझ धेरै बलियो’, बाइडेनले थपे ।  उनले भने, ‘पुटिनले स्वतन्त्र विश्वलाई हल्लाउन खोजे । उनले सोचे कि उनी आफ्नो खतरनाक तरिकाले यसलाई झुकाउन सक्नेछन् । तर, उनको आकलन गलत थियो ।’

बाइडेनले आफ्ना युक्रेनी समकक्षी र नागरिकको तारिफ गरे । उनले उनीहरूलाई निडर, बहादुरको संज्ञा दिँदै विश्वलाई प्रेरित गरेको बताए ।