पाँचौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ देखि २१ गतेसम्म हुने

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, १५ : ५८
पाँचौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ देखि २१ गतेसम्म हुने

काठमाडौँ । पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) यही चैत्र १७ देखि २१ गतेसम्म राष्ट्रय सभागृह र पर्यटन बोर्डको सभाहलमा भौतिक रुपमा नै हुने भएको छ ।

यसअघि चैत्र १० देखि १४ गतेसम्म हुने भनिएकोमा प्राविधिक कारणले मिति परिवर्तन गरिएको निफका अध्यक्ष के।पी। पाठकले जानकारी गराए । गत वर्ष चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअल माध्यमबाट गरिएको थियो । यस वर्ष पनि कोरोना जोखिमको कारण महोत्सव भर्चुअल गर्ने तयारी गरिएको थियो । तर कोरोनाको जोखिम कम हुनुका साथै राज्यले पनि सबै गतिविधिहरुलाई खुला गरेकोले अब भौतिक रूपमै हुने भएको हो ।

महोत्सवमा ३८ देशका ८९ चलचित्रहरू बीच प्रतिष्पर्धा हुने उनले जानकारी दिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा  पुरस्कार वितरण गरिने समेत सोमबार एक पत्रकार सम्मेलनमा जानकारी गराइयो । यसपटक चलचित्र हलमा भौतिक रुपमा प्रदर्शन  हुनुका साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन गरिने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस