सार्वजनिक जग्गामा बनेका घर र टहरा हटाइने

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, १३ : ३०
सार्वजनिक जग्गामा बनेका घर र टहरा हटाइने

काठमाडौ  । धरान उपमहानगरपालिकाले २०७२ यता अनधिकृत रुपमा टहरा बनाएर बसेकालाई हटाउने निर्णय गरेको छ। धरान–१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृत रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निर्णय गरिएको हो।

 प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको धरान उपमहानगरपालिकाले जनाएको छ ।  सर्वपक्षीय बैठकले २०७२ सालपछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती क्रमबद्ध रुपमा हटाउने निर्णय गरेको हो ।

उक्त कार्यको सुरुवात वडा नं १७ स्थित नयाँ अतिक्रमित क्षेत्रबाट गरिने भएको छ। धरान उपमहानगरपालिका वडा नं १७ देवीथान र कालापानीलगायत विभिन्न खोलाको किनारा, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ती बस्नेक्रम नरोकिएकाले स्थानीय राजनीतिक दलका पदाधिकारी तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागितामा उपमहानगरले छलफल गराएको थियो।

खुला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुग्नाका साथै नगरको सुन्दरता नै कुरुप हुने गरी गरिएको अतिक्रमण हटाउनुपर्नेमा सबैले बैठकमा प्रतिबद्धता जनाएका थिए।  

प्रतिक्रिया दिनुहोस