ओलीको साथ लिएर एमसिसी पारित गराउने देउवाको दाउ

सफल खबर संवाददाता

मंगलबार, १० फागुन २०७८, २१ : ०२
ओलीको साथ लिएर एमसिसी पारित गराउने देउवाको दाउ

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ लिएर एमसिसी पारित गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको दाउ रहेको देखिएको छ । ओली देउवाको बालुवाटारमा भएको भेटवार्तामा देउवाले एमसिसीमा साथ दिन ओलीलाई पटकपटक आग्रह गरेका थिए । 

अध्यक्ष केपी शर्मा ओलीसहितको नेकपा एमालेका नेताको टोली बालुवाटारबाट बाहिरिएको छ। एमाले अध्यक्ष ओली वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमालका साथमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेर केही बेरअघि प्रधानमन्त्री निवासबाट निस्किएका हुन्। 

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटका क्रममा प्रधानमन्त्री देउवाले एमालेसँग सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधि सभामा प्रस्तुत  एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको जानकारी दिए। 

‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ’, रिजालले भने। 
संसदमा पेस अमेरिकी सहायता परियोजना एमसीसी पास गराउने दौडधुपमा रहेका प्रधानमन्त्री देउवाले ओलीलाई भेट्न बालुवाटार बोलाएका हुन्।

मंगलबार मात्रै कांग्रेस महामन्त्री गगन थापाले चितवन पुगेर एमसीसीको पक्षमा मतदान नभएमा सत्तारुढ गठबन्धन तोडिने बताएका छन्। उनले एमसीसीको पक्षमा सत्तारुढ सबै दल एक नभएमा गठबन्धन भनेर कांग्रेस बस्न नसक्ने चेतावनी दिएका छन्। एमसीसी टेबल भए पनि सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पास गराउने पक्षमा मत दिन नसक्ने बताइरहेका बेला संसदको ठूलो दलसँग कांग्रेसले संवाद बढाएको हो। 

आइतबार संसदमा एमसीसी टेबुल भएकै दिन दुई नेताबीच वार्ता हुने तयारी थियो। तर प्रदर्शनकारीहरूले ओली सवार गाडीमा पनि ढुंगा हानेपछि दुई नेताको भेट रोकिएको थियो। संसदमा एमसीसी पास हुनुअघि गत फागुन ५ मा ओलीसँग वार्ताका लागि देउवा बालकोट पुगेका थिए। पत्नी आरजुसहित पुगेका देउवालाई ओलीले पहिले गठबन्धन तोडेमा आफू सहकार्य गर्न  तयार रहेको बताएका थिए। 

फागुन ५ को बिहान देउवाले डा मिनेन्द्र रिजाललाई ओलीसँग वार्ताका लागि बालकोट पठाएका थिए। त्यससँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ओलीसँग टेलिफोन वार्ता गरेका थिए।सोमबार मात्रै एमसीसी पास गराउनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ दलका तीन शीर्ष नेतासँग वार्ता गरेका थिए। अहिले प्रधानमन्त्री देउवा एमसीसी पास गर्ने विकल्प खोजिरहेका छन्। उनी सकेसम्म सत्तारुढ दलबाटै एमसीसी पास गराउने योजनामा छन्। 

तर माओवादी र समाजवादीले पक्षमा मतदान गर्ने ग्यारेन्टी नभएमा उनी एमालेको साथ लिएर पनि एमसीसी पास गर्ने दाउमा छन्। तर उता प्रमुख प्रतिपक्षी दलका नेता ओली गठबन्धन टुटाउने शर्तमा ओलीलाई सघाउन तयार भएका छन्। तर देउवाले गठबन्धन टुटाउने सम्भावना कम रहेको सत्तारुढ नेताहरु बताउँछन्।