ढोडेनी वस्तीमा खानेपानी पुगेपछि स्थानीय हर्सित , एक हजार घरधुरीलाई पानिको सहज पहुँच हुने

प्रकाश सिग्देल

मंगलबार, १० फागुन २०७८, २० : ३३
ढोडेनी वस्तीमा खानेपानी पुगेपछि स्थानीय हर्सित , एक हजार घरधुरीलाई पानिको  सहज पहुँच हुने

चितवन । भरतपुर महानगरपालिकाले महानगरको २९ नम्वर वडामा लिफ्टमार्फत खानेपानी योजना सुरु गरेको छ । महानगरले साबिकको दाहाखानी गाबिस चौकीडाँडा र ढोडेनीमा लिफटमार्फत खानेपानीको प्रवन्ध गरेको हो । यी दुई आयोजना निर्माणमा भरतपुर महानगर, प्रदेश सरकार र संघीय सरकारको रकम लगानी भएको भरतपुर महानगरले जनाएको छ । आयोजनाको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।

चौकीडाडामा संघीय सरकारको १ करोड ७५ लाख र प्रदेश सरकारको २ करोड ९५ लाख ५८ हजार गरी ४ करोड ७० लाख ५८ हजार लागतमा खानेपानीको प्रबन्ध गरिएको हो । बागेंशाल चापढालेखोलाबाट १४ सय मिटरमाथि लिफ्टमार्फत पानी पठाएर त्यसलाई चौकीडाँडामा रहेको टंकीमा जम्मा गरी त्यहाँबाट पानी वितरण गरिएको निर्माण समितिका अध्यक्ष भुपाल मगरले बताए । यो आयोजनाबाट करिव ८ सय धरधुरीलाई पानी पुर्याउन सकिने उनले बताए ।

त्यस्तै संघीय सरकारको ७५ लाख १७ हजार, भरतपुर महानगरको ४५ लाख, प्रदेश सरकारको ३० लाख गरी १ करोड ५० लाख लागतमा ढोडेनीमा पनि खानेपानीको प्रबन्ध गरिएको निर्माण समितिका अध्यक्ष जगत लामाले बताए । पँधेरी खोलाको पानी ५ सय मिटर तलदेखि दुईवटा मोटरले लिफ्ट गरेर ढोडेनीको चार आहाल डाँडामा २ लाख लिटर क्षमताको टंकीमा जम्मा गरी त्यसलाई उपभोक्तालाई बितरण गरिएको छ ।

यी दुबै आयोजनाबाट करिव १ हजार घरधुरीलाई खानेपानीको सहजै ब्यवस्थापन गर्न सकिने बताइएको छ । हाल २०० घरधुरी लाभान्बित भएका छन् । ढोडेनीको खानेपानी लिफट गर्ने मोटर चट्यागंका कारण जलेकाले त्यसको पनि उचित ब्यवस्थापन गर्न समस्या भएको उपभोक्ता समिति अध्यक्ष लामाले बताए । खानेपानीको टंकी र पाइपलाइन बिस्तार भए पनि उपभोक्ताको आर्थिक स्थिति कमजोर हुँदा धारा निर्र्माणमा पनि समस्या भएकाले घरघरमा धारा जडानमा थप सहयोग आवश्यक रहेको उनले बताए ।

महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुबेदी, शैक्षिक प्रशासन महासाखा प्रमुख महेन्द्र पौडेल महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, भुमि आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सेना, महानगरका प्रेस सल्लाहकार सुुरेशचन्द्र अधिकारीलगायत बिभिन्न वडाका वडाअध्यक्षहरु र स्थानीयको बिशेष सहभागितामा खानेपानी आयोजनाको उद्घाटन गरिएको हो ।

चौकीडाँडा, ढोडेनीलगायतका ठाउँ भरतपुर महानगरको  शिर भएको र यहाँ खानेपानीको अभाव रहेको आफुले थाहा पाउना साथ आफूले यहाँका बासिन्दालाई खानेपानीको प्रवन्ध गर्न प्रदेश र केन्द्र सरकारसंग समन्वय गरी खानेपानीको ब्यवस्थापन गरेको मेयर दाहालले बताईन् ।

माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसहित महानगरको टिम चौकीडाँडामा पुग्दा स्थानीयले खानेपानी नै मुल समस्या रहेको बताएपछि प्रचण्डकै बिशेष जोडबलले यहाँ लिफटबाट खानेपानी सहज भएको दाहालको भनाइ थियो ।  हिजोको काकाकुल अवस्थाको अन्त्य भएको बताउँदै दाहालले अव यहाँको अन्य पर्यटन बिकासमा आफूहरुको ध्यान गएको बताइन् ।

सडक पुर्वाधारको बिकासका लागि करिव १ सय किलोमिटर कच्ची बाटाहरुको ट्याकं चौकीडाँडा, ढोडेनी र यो आसपासमा खोलिएको समेत दाबी गर्दै मेयर दाहालले  अब जुगेडी हुँदै चौकीडाँडा निस्कने बाटोको ट्याकं पूरा गरी त्यसलाई पिच पनि गर्ने बताइन् ।  चौकीडाँडा र यसका पहाडहरु महानगरको गहना भएकोले यसलाई दार्जीलिङ र सिक्किमजस्तो गरी बिकास गरिने समेत उनको भनाइ थियो ।  

कार्यक्रममा भरतपुर माहनगर उपप्रमुख पार्वती शाह ठकुरीले चौकीडाँडा र यसका पहाडहरु चितवनको नगरकोट र गोदाबरीजस्तो भएको बताइन् । यसको बिकास र पर्यटकीय केन्द्रका रुपमा बिकास गर्न आफूहरु निरन्तर लागेको उनको तर्क छ । यो क्षेत्रको बिकास र यहाँका स्थानीयको जीवन परिवर्तनमा आफुहरु निरन्तर लागिरहेको शाहले बताइन् । कार्यक्रममा बोल्दै भुमि आयोग चितवनका अध्यक्ष बद्रि तिमिल्सेनाले यहाँका स्थानीयहरुलाई छिटै जग्गाको लालपुर्जा दिइने बताए ।

यहाँको भूमि स्थानीयले बिक्री गर्ने र बजारका धनाड्यहरुले खरिद गरेर राख्ने समस्या रहेकोले यस्तो हुन दिन नहुनेमा उनले जोड गरे । वडा नम्वर २९ का वडा अध्यक्ष मानबहादुर मगरले आफनो वडाको मुख्य समस्या नै खानेपानी रहेको र नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डको जोड बलबाट नै यहाँ खानेपानीको प्रवन्ध भएको दाबी गरे । कार्यक्रममा खानेपानीको अफिस र टंकी निर्माणमा जग्गा उपलब्ध गराउने जग्गादातालाई सममान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस