पोखरा । पर्यटकीय नगरी पोखरामा गत आईतवार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ ।
बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए । कडारियाले राज्यले कृषकलाई दिएको बिमा सुविधा समेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताए । उनले असिनाका कारण सो वडाहरुमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको छ जानकारी दिए । उनकाअनुसार असिनापानी परेको दोस्रो दिनसम्म पनि असिना पग्लिएको छैन ।
असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आउनुभएको उदय अर्गानिक कृषि फार्मका २ वटा भैँसी मरेका छन् । फार्ममा टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेको कारण भैँसी मरेका हुन् । त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङका अनुसार फर्ममा २० लाख बराबरको क्षति भएको छ ।
उता, पोखरा वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आउनुभएको गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ । उनले ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टनेलसहित भाँचिदा पूर्ण रुपमा क्षति भइ २० लाख बराबरको क्षति पुगेको बताए । असिनाको भारका कारण टनेल भाँचिएको उनको भनाइ छ ।
यसैगरी पोखरा ११ को कृषक मोतीराम भट्टराईको पनि तराकारी खेतीमा ठूलो क्षति भएको छ । उनले सरकारले राहत दिएर भएपनि कृसानहरुलाई सहयोग गरिदिन आग्रह गरे ।
पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा ११ भएकोले आफ्नो वडामा धेरै क्षति पुगेको बताए । उनले कृषकको राहतमा आफूले पहल गरेकोसमेत बताए ।
पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ । पोखरामा गत फागुन ८ गते आइतवार दिउँसो भीषण असिनापानी परेको थियो । असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमंरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो । सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो । असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० फागुन २०७८, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फुटपाथमा पुस्तक बिक्री नगर्न महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह
जेनजीको पोखरामा पनि प्रदर्शन
बेमौसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध