एमसिसी विवाद

प्रकाशमान भेट्न प्रधानमन्त्री देउवा उनकै निवासमा, माधव नेपाल र झलनाथ खनाल प्रचण्ड भेट्न पुगे खुमलटार

सफल खबर संवाददाता

शुक्रबार, ०६ फागुन २०७८, ०९ : ३०
प्रकाशमान भेट्न प्रधानमन्त्री देउवा उनकै निवासमा, माधव नेपाल र झलनाथ खनाल प्रचण्ड भेट्न पुगे खुमलटार

काठमाडौं । सत्ता गठबन्धन दलभित्रै एमसिसीलाई लिएर चरम मतभेद देखिएपछि नेताहरु गुटगुटमा विभाजित भएर छलफललाई तिब्रता दिएका छन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)  संसदमा लगेर अनुमोदन गर्ने विषयमा रस्साकस्सी चलिरहेका बेला राजनीतिक भेटघाट तीव्र भएको छ । 

एमसीसीमा सहमति जुटाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि अहिले बिहान १० बजे फेरि बैठक बस्न लागेको हो।

त्यस अगाडी सत्ता गठबन्धन दलका दुई धुव्रमा विभाजित नेताहरुको राजनीतिक भेटघाट तीव्र भएको हो । विहिवारको सत्ता गठबन्धन दलको बैठक लगत्तै प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी डा आरजु राणा देउवालाई साथ लिएर एमाले अध्यक्ष केपी ओली भेट्न बालकोटस्थित ओली निवास पुगेपछि राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ ।

सत्ता गठबन्धन अव संकटमा परेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरु वाक्लो राजनीतिक भेटघाटमा लागेका हुन् ।

ओलीसँग अवेर राती ११ बजेसम्म भेटघाट गरेर फर्किएका प्रधानमन्त्री देउवा आजको संसद बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने तयारीमा छन् । प्रधानमन्त्री आफ्नै पार्टीका नेता प्रकाशमान सिंहसँग यस विषयमा थप छलफल गर्न सिंह्को चाक्सीवारी निवास पुगेका छन् ।

उता माधव नेपाल र झलनाथ खनाल भने प्रचण्ड निवास खुमलटारमा पुगेका छन् । नेकपा एकीकृतका सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष नेपाल भने प्रचण्डसँग अवको रणनीति बनाउने विषयमा छलफलका लागि खुमलटार पुगेको श्रोतको भनाई छ । 

प्रतिक्रिया दिनुहोस