एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, १३ : २०
एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएको छ । अहिले बानेश्वर क्षेत्रमा तनावको स्थिति छ ।झडपमा वाईसीएल संयोजक सुमन देवकोटा घाइते भएका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत दलका कार्यकर्ताहरु बिहानैदेखि बानेश्वर क्षेत्रमा भेला भएर एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समूह पनि एमसीसीको विरोधमा मिसिएको छ ।

विरोध प्रदर्शनका कारण माइतीघर–तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भएको भेटवार्तामा आजको संसद बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । भोलि दिउँसो सत्ता गठबन्धनका नेताहरुको बैठक बसेर एमसीसीबारे निर्णय गर्ने बताइएको छ ।

सभामुख अग्नि सापकोटाले पनि दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस