गौतमबुद्ध विमानस्थलमा आगामी शुक्रबार क्यालिब्रेसन फ्लाइट हुने

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, १२ : ०३
गौतमबुद्ध विमानस्थलमा आगामी शुक्रबार क्यालिब्रेसन फ्लाइट हुने

बुटवल । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आगामी शुक्रबारदेखि क्यालिब्रेसन फ्लाइट सुरु हुने र यसका लागि सबै आन्तरिक तयारी पूरा भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । क्यालिब्रेसन फ्लाइट ६ देखि १५ फागुनसम्म चल्नेछ ।

प्राधिकरणका अनुसार एरो थाईको विमानले क्यालिब्रेसन फ्लाइट गर्नेछ । प्राधिकरणका प्रवक्ता देवचन्दलाल कर्णका अनुसार एरो थाईको विमान बिहीबार काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ भने शुक्रबार काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नेछ । एरो थाईको विमान थाइल्याण्डबाट सिँधै भैरहवा अवतरण गर्ने तयारी भए पनि अध्यागमनको व्यवस्था नभएकाले काठमाडौं अवतरण गरी भैरहवा ल्याउन लागिएको हो ।

क्यालिब्रेसन फ्लाईट हुने भएपछि अन्य नियमित उडान भने नियमित समय भन्दा केही ढिला हुने कर्णले बताए । १० दिनसम्म क्यालिब्रेसन फ्लाइट भैसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिनेछ । त्यसपछि मात्र व्यावसायिक उडानका लागि आवश्यक प्रक्रिया अगाडि बढ्ने प्रवक्ता कर्णले जानकारी दिए ।

विमानस्थल विस्तार आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको आइसीबी–१ र आइसीबी–२ अन्तर्गतका सबै काम सम्पन्न भैसकेका छन् । क्यालिब्रेसन फ्लाइटपछि हुने परीक्षण उडानको दिन आयोजना हस्तान्तरणको मिति समेत तय गर्ने तयारी छ ।

क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको जहाजमा दुई जना पाइलट हुने छन् भने सात जना विशेषज्ञ रहनेछन् । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको जाँच गर्नका लागि क्यालिब्रेसन फ्लाइट गर्ने गरिन्छ । 

भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसीबी १)मा सम्झौता भएर १ माघ २०७१ देखि निर्माण सुरु गरेको थियो । त्रिभुवन विमानस्थलको विकल्पमा रहेको यो विमानस्थलको लम्बाई तीन हजार मिटर र चौडाई ६० मिटर रहेको छ । 

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा तीन तहका काम सम्पन्न भएका छन् । पहिलो (आइसिबी–१अन्तर्गत ६ अर्ब ८२ करोडको । दोस्रो अन्तर्राष्टि आइसीबी–२ अन्तर्गत ५० करोड रुपैयाँको काम र तेस्रो २२ अर्ब ४० करोड रुपैयाँको मुआब्जा वितरण सम्पन्न भएको छ । त्यसका अतिरिक्त कार्गो भवन निर्माणका लागि ९० करोडको काम भएको छ । यसरी आयोजनाको सबै काम जोड्दा ३० अर्ब रुपैयाँभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडीबीको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस