कांग्रेस संसदीय दलको बैठक

कांग्रेसका अधिकांश सांसद एमसीसीको पक्षमा,भोलि संसदमा पेस हुने

सफल खबर संवाददाता

मंगलबार, ०३ फागुन २०७८, १२ : २२
कांग्रेसका अधिकांश सांसद एमसीसीको पक्षमा,भोलि संसदमा पेस हुने

काठमाडौं । सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा उभिएका छन् । 

नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएकाे कांग्रेस सांसद शशांक कोइरालालले जानकारी दिए । ‘आजको बैठकमा एमसीसीबारे छलफल भयो । अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका छन्,’ उनले भने । 

बैठकमा रामशरण महतले एमसीसी लागू गर्दा नेपालमा अमेरिकी सेना नआउने र देशकै हितमा रहेको भन्दै ब्रिफिङ गरेका  थिए । एमसीसी सम्झौता संसदबाट पास नगरेचाहिँ राष्ट्रघात हुने उनकाे जिकिर थियाे । ‘एमसीसी पास नगर्ने कुरा महाराष्ट्रघात हुन्छ । एमसीसीका सन्दर्भमा झूट र भ्रम सिर्जना गरिएको छ’ महतको भनाई उद्यृत गर्दै कोइरालाले भने ।

उनका अनुसार एमसीसी अनुमोदनका लागि भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस हुने सम्भावना बढी रहेको छ । ‘सम्भवतः भोलि बस्ने संसद बैठकमा एमसीसी पेस हुने सम्भावना बढी छ’, नेता कोइरालाले भने । 

साथै कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । उनले बैठकमा एमसीसीसँगको सम्झौता नेपालको हितमा रहेको भन्दै त्यसलाई पास गर्नुको विकल्प नरहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस