राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको जवाफ : कमल थापाले पार्टी छोड्दैमा के हुन्छ ?

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, १९ : ३९
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको जवाफ : कमल थापाले पार्टी छोड्दैमा के हुन्छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडेर केही लछारपटार नलाग्ने बताएका छन् । अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरेपनि के हुन्छ र जवाफ दिएका छन् । पार्टीको आगामी जीवनमा केही फरक नपर्ने बताएका हुन् ।

राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनको भनाइ छ । अध्यक्ष लिङ्देनले भने, ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुःखित त बनायो नै । तर यो राप्रपाको जीवनमा सधैं सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जीवनमा अगाडि बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडी बढ्छौं ।’

अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुर्नविचार गर्न आग्रह पनि गरे । थापाको यस निर्णयले उनकै राजनीतिक भविष्य समेत नरहेको भन्दै उनले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस