रक्तक्यान्सरपीडित बालकको उपचारमा समस्या, सहयोगको याचना

रासस

मंगलबार, २५ माघ २०७८, ०७ : ५६
रक्तक्यान्सरपीडित बालकको उपचारमा समस्या, सहयोगको याचना

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रक्तक्यान्सरबाट थलिएका १० वर्षीय बालकको उपचारमा समस्या भएको छ । काठमाडौँको निजामती कर्मचारी (सिभिल) अस्पतालमा भर्ना भएका निश्चल विश्वकर्माको उपचारमा अर्थाभाव भएको हो । पुस २० गते अस्पताल भर्ना भएका निश्चलको उपचारमा हालसम्म रु छ लाखभन्दा बढी खर्च भइसकेको आमा चन्द्रकुमारी विकले बताईन् ।

“बोनम्यारो प्रत्यारोपण गर्दा आइसीयूमा राख्नुप¥यो भने रु २५ देखि रु ३० लाख र आइसीयूमा राख्न नपरे रु २० देखि २५ लाख आवश्यक पर्ने चिकित्सकले भन्नुभएको छ”, उनले भनिन्, “आफूसँग भएको, विदेशबाट श्रीमान्ले पठाएको र आफन्तबाट ऋण गरेर रु छ लाख खर्च गरिसकेँ ।” थप उपचार र बोनम्यारो प्रत्यारोपण गर्ने खर्च जुटाउन नसकेर विक परिवार समस्यामा परेका छन् ।

निश्चलका बुवा मदन रोजगारीका लागि कुबेतमा हुनुहुन्छ । विक परिवार गाउँमा खेती किसानी र ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए । निश्चलको उपचारका लागि आर्थिक सहयोग जुटाउन रुमका उदयकुमार बुढाथोकी संयोजक र भूपेन्द्र नेपाली सहसंयोजक रहेको ‘निश्चल बचाऊ अभियान’ सुरु भएको छ । स्वदेश तथा विदेशमा रहेका म्याग्देली, नेपाली र सहयोगी मनहरूलाई अपिल गरेका छन् । निश्चलकी आमा चन्द्रकुमारीको नाममा मेगा बैंकमा १४२००५००१५४७९ नंको खाता खोलिएको छ ।

प्रतिक्रिया दिनुहोस