हिमपात कारण ताप्लेजुङकाे जनजीवन कष्टकर

सफल खबर संवाददाता

शनिबार, २२ माघ २०७८, १३ : १०
हिमपात कारण ताप्लेजुङकाे जनजीवन कष्टकर

ताप्लेजुङ । ताप्लेजुङमा पछिल्लो केही दिनयता दिनहुँजसो हिमपात भइरहेको छ । माघ महिनाको दोस्रो सातायता प्रायः धुम्मिदो मौसमका कारण जिल्लाको उच्च भेगमा  निरन्तर हिमपात हुँदै आएको छ।
 
निरन्तरको हिमपातले उच्च क्षेत्रको जनजीवन भने कष्टकर बन्दै गएको छ । हिमपात र मौसम नखुल्दा बालबालिका तथा वृद्धवृद्धा प्रभावित भइरहेकाे स्थानीयकाे दुखेसाे छ । शुक्रबार बिहानैदेखि पनि उच्च भेगमा बाक्लाे हिमपात भइरहेको छ । यहाँका हिमाली बस्तीहरू फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला, याङ्मा, फक्ताङ्लुङकै वडा नंम्वर ६ लेलेपको घुन्सा, फले, ग्याब्लालगायतमा क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन् । घुन्साका कासाङ शेर्पाले लामो समयदेखि हिमपात जारी रहँदा जनजीवन कष्टकर बनेको बताएका छन् ।  

गत पुस अन्तिम साता घुन्सालगायत हिमाली बस्ती तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको र त्यसबेला परेको हिउँ नै अहिलेसम्म पग्लिन नपाएको शेर्पाले बताए । उनले भने, 'लामो समयदेखि मौसम नखुलेको र हिउँ पर्ने क्रम जारी रहेकाले पुसकै हिउँ अहिलेसम्म जमिरहेको छ । त्यसमाथि दिनहुँजसो हिउँ थपिँदा घुन्सासहित फले, याङ्मा ओलाङ्चुङगोला, तोक्पेगोला, पाथीभरा फेदीबजार लगायतका बस्तीकाे जनजीवन कष्टकर बनिरहेकाे छ । 

तीन हजार सात सय ९४ मिटर उचाइमा रहेकाे प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि बाक्लाे हिउँ परेकाे फेदी बजारका राजेन्द्र महतले जानकारी दिए । महतका अनुसार पाथीभरा धाम, फेदीबजार र तल्लो फेदी काफ्लेपाटी क्षेत्रसम्म हिमपात भइरहेकाे छ । 


 

प्रतिक्रिया दिनुहोस