भारतमा कोभिड प्रतिबन्ध खुकुलो पारिँदै, खुल्ने भए दिल्लीका विद्यालय

एजेन्सी

शुक्रबार, २१ माघ २०७८, १४ : ३४
भारतमा कोभिड प्रतिबन्ध खुकुलो पारिँदै, खुल्ने भए दिल्लीका विद्यालय

नयाँ दिल्ली । कोभिडको तेस्रो लहर सामना गरिरहेको भारतमा विस्तारै प्रतिबन्धहरु खुकुलो बनाउन थालिएको छ । दैनिक संक्रमितको संख्या घट्न थालेपछि कोभिड नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धहरु पनि खुकुलो बनाउदै लगिएकाे हो । जसअनुसार दिल्लीमा विद्यालय र जिम हल खोल्न अनुमति दिइएको छ ।

दिल्ली विपद् व्यवास्थापन निकाय (डीडीएमए) का अनुसार जिम हललाई केही प्रतिबन्धसहित खुला गर्न अनुमति दिइएको छ भने शैक्षिक संस्थाहरु विभिन्न चरणमा खुला गरिनेछ । जसअनुसार ७ फेब्रुवरीबाट कक्षा ९ दखि १२ सम्मका विद्यार्थीका लागि भौतिक रुपमा कक्षा सञ्चालन हुनेछन् । तर, खोप नलगाएका शिक्षक विद्यालय जान पाउने छैनन् ।

दिल्लीमा रात्रीकालीन कर्फ्यू जारी रहनेछ, तर यसअघि राति १० बजेदेखि लाग्दै आएको कर्फ्यूको समयावघि एक घन्टा घटाइएकाे छ । त्यस्तै, शत प्रतिशत कर्मचारीको भौतिक उपस्थितिमा कार्यलय सञ्चालन गर्न अनुमति दिइएको छ । 

भारतमा पछिल्लो २४ घन्टामा एक लाख ४९ हजार ३९४ जनामा कोभिड संक्रमण देखिएको छ । त्यस्तै पछिल्लाे २४ घन्टामा एक हजार ७२ जनाको संक्रमणका कारण मृत्यु भएको भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । 

प्रतिक्रिया दिनुहोस