भरतपुर अस्पतालमा सरुवा रोग अस्पताल निर्माणको काम सुरु

सफल खबर संवाददाता

बुधबार, १९ माघ २०७८, १२ : ०३
भरतपुर अस्पतालमा सरुवा रोग अस्पताल निर्माणको काम सुरु

चितवन । भरतपुर अस्पतालमा सरुवा रोग अस्पतालको निर्माण कार्य सुरु भएको छ। संघीय सरकारको एक प्रदेश एक सरुवा रोग अस्पताल नीति अन्तर्गत बागमती प्रदेशको भरतपुरमा सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको हो।

आगामी दुई वर्षमा निर्माण कार्य सम्पन्न हुने गरी काम भइरहेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट प्रा।डा। कृष्ण पौडेलले जानकारी दिए। सरुवा रोगको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनको तयारीसहित प्रत्येक प्रदेशमा ५० शय्याको प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माण गर्ने सरकारको नीति छ।

सोही नीति अनुसार बागमती प्रदेश अन्तर्गत ५० शय्याको प्रदेश स्तरीय सरुवा रोग निर्माणको काम सुरु भएको हो। अस्पताल निर्माणका लागि सरकारले १८ करोड रुपैयाँ बजेट छुट्याएको छ।

नेपालमा कोरोना महामारी सुरु भएपछि संघीय सरकारले९ प्रत्येक प्रदेशमा एउटा सरुवा रोग अस्पताल बनाउने सरकारको नीति अनुसार बागमती प्रदेशको यहाँ परेको हो। पौडेलका अनुसार अस्पताल भवनको फिल्ड क्लियर भइसक्यो। सरुवा रोग अस्पताल बनेपछि कोभिड जस्ता सरुवा रोग र नसर्ने रोगको उपचार गर्न सहज हुने उनले बताए। उनले भने, “अहिले कोभिडका बिरामी बढ्ने बित्तिकै ननकोभिडका बिरामीले दुख पाए। सबै खाली गर्नुपर्यो। अब सरुवा रोग अस्पताल बनेपछि यो अवस्था आउँदैन। सर्ने र नसर्ने रोगका बिरामीको उपचार र व्यवस्थापन गर्न सहज हुन्छ।”

आगामी दिनमा आउन सक्ने महामारीसँग जुध्न पनि यसले सहयोग पुग्ने उनको भनाई छ । यसअघि जग्गा विवादका कारण अस्पताल बनाउन केही ढिलाई भएको थियो।

प्रतिक्रिया दिनुहोस